ताजा समाचार

डिभिजन टूमा नेपालले आज केन्यासँगको खेल नजिते के हुन्छ ? यस्तो छ इतिहास

काठमाडौं, २९ माघ । विश्व क्रिकेट लिग डिभिजन–टूमा आज नेपाल र केन्या आमनेसामने हुँदैछन् । खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजेपछि नामिबियामा सुरु हुनेछ । प्रतियोगितामा अहिलेसम्म खेलेका ३ मध्ये २ खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ ।

अहिलेसम्म खेलेका दुवै खेल हारेको केन्या अंक तालिकाको पुछारमा छ । केन्या पहिलो खेलमा यूएइसँग २ सय १८ रनले पराजित भएको थियो । आइतबार यूएईलाई ४ विकेटले हराउँदै नेपालले प्रतियोगिताको शिर्ष २ मा रहने सम्भावना कायमै राखेको छ । शिर्ष २ मा पर्ने टिमले एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछन् ।

हेड टू हेडमा नेपालभन्दा केन्या बलियो देखिन्छ । नेपाल र केन्याले अहिलेसम्म ५ खेल खेलेकोमा नेपाल एक खेलमा मात्र विजयी भएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत गएको वर्षको मार्चमा कीर्तिपुरमा भएका २ खेलमध्ये नेपालले एक खेल जितेको थियो ।

केन्या सन् १९८१ देखि आइसीसीको एशोसिएट देशका रुपमा छ । सन् १९९६ मा एकदिवसीय र २००७ मा अन्तर्राष्ट्रिय ट्वेण्टी ट्वेण्टी क्रिकेट खेलेको केन्याले सन् २०१४ मा एकदिवसीय र र ट्वेण्टी ट्वेण्टी मान्यता गुमाएको हो ।केन्याले सन् २००३ मा विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेर सनसनी मच्चाएको थियो । केन्या सेमिफाइनलमा भारतसँग हारेको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org