ताजा समाचार

नेकपाले यसरी गठन गर्दैछ स्थानीय कमिटी

 

काठमाडौ,५ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थानीय तहमा पनि संसदीय दल गठन गर्ने भएको छ । प्रदेश कमिटीभन्दा तलका कमिटीहरुलाई नेकपाले स्थानीय कमिटी भनेको छ ।

नेकपाका जिल्ला कमिटीमा २५० सदस्यीयसम्म हुने भएका छन् । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा १२५ सदस्यीय जिल्ला कमिटी हुने  विधानले भनेको छ ।

जिल्ला कमिटीमन्दा तल प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी र प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी हुनेछन् । त्यसपछि स्थानीय तहका कमिटीहरुलाई राखिएको छ । स्थानीय तहभन्दा तल वडा कमिटी, प्रारम्भिक कमिटी र पार्टी सेल कमिटीसमेत रहने व्यवस्था नेकपाको विधानमा गरिएको छ ।

महानगरका वडा कमिटी बढीमा ३५, उपमहानगरका वडा कमिटी बढीमा २७ तथा नगरका वडा कमिटी बढीमा २५ सदस्यीय हुने व्यवस्था गरिएको छनिर्वाचन क्षेत्रीय समन्वय कमिटीबाहेक सबै स्थानीय कमिटीमा आफ्नो तहको अधिवेशनबाट निर्वाचित अध्यक्ष, सचिव र सदस्यहरू रहने वैधानिक व्यवस्था गरिएको छ । नेकपाको महानगर कमिटी बढीमा ७५, उपमहानगर कमिटी बढीमा ६१ र नगर कमिटी बढीमा ५१ सदस्यीय हुनेछन् । गाउँपालिका कमिटी बढीमा ४१ सदस्यीय हुनेछन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीमा जिल्ला कमिटीले सम्बन्धित निर्वाचन क्षेत्रमा कार्यरत जिल्ला कमिटीका सदस्यमध्येबाट तोक्ने संयोजक र सचिव पदाधिकारी हुनेछन् । सम्बन्धित निर्वाचन क्षेत्रअन्तर्गत कार्यक्षेत्र भएका जिल्ला कमिटी सदस्यहरू र स्थानीय तहका पदाधिकारीहरु पनि सो कमिटीको स्वतः सदस्य हुनेछन् ।

सम्बन्धित निर्वाचन क्षेत्रअन्तर्गतका महानगर र उपमहानगरका वडा कमिटीका अध्यक्षहरू, प्रतिनिधिसभा निर्वाचन क्षेत्रभन्दा माथिल्लो कमिटीमा नरहेका सम्बन्धित निर्वाचन क्षेत्रका संगठित सदस्यता प्राप्त सांसद, स्थानीय तहका प्रमुख वा अध्यक्ष पनि सो कमिटीको सदस्य हुनेछन् । थप दश प्रतिशत संख्या जिल्ला कमिटीले मनोनित गर्ने व्यवस्था गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org