ताजा समाचार

गृहमन्त्री थापाको डा. केसीलाई व्यङ्ग्यः मलाई त्यहि केटी चाहिन्छ भन्नुपनि अधिनायकवाद

काठमाडाैं १४, असार । माइतीघर मण्डलालाई निशेधित क्षेत्र घोषणा गरिएकोमा आपत्ति जनाइरहेका डा. गोविन्द केसीलाई गृहमन्त्री रामबहादुर थापा बादलले उनी आफैं अधिनायकवादी भएको आरोप लगाएका छन् ।

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेका थापाले माइतीघर मण्डलामा प्रदर्शन गर्न पाउनुपर्ने डा. गोविन्द केसीको मागप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

आगामी साउन १ गतेदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्न निषेध गरिएको जानकारी दिँदै थापाले अधिनायकवाद होइन, सरकार विधिअनुसार चल्ने दाबी गरे ।

घुमाउरो भाषामा गृहमन्त्रीले जनप्रतिनिधिले गरेको काममा बाधा नपुर्याउन डा. केसीला सचेत समेत गराए ।

डा. गोविन्द केसी नागरिकको प्रतिनिधि भएता पनि निर्वाचनबाट आएको यो सरकार पनि नागरिककै प्रतिनिधि भएको मन्त्री थापाले दाबी गरे । उनले भने- ‘यो सरकार जनप्रतिनिधिहरुको सरकार हो । उहाँले नागरिकहरुको प्रतिनिधित्व गर्नुहुन्छ भने यो सरकारले पनि त नागरिककै प्रतिनिधित्व गर्छ । वास्तवमा नीति नियमसँग हठ गर्ने कुरालाई हामीले लोकतन्त्र ठान्दैनौं ।’

पत्रकार सम्मेलनमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले काठमाडौंका ७, ललितपुरका ६ र भक्तपुरको एउटा ठाउँलाई विरोध प्रदर्शनका लागि तोकिएको जानकारी दिए । यसअनुसार काठमाडौंको खुलामञ्च, तीनकुने, भुइँखेल भगवानपाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण, सिफल चौर र लैनचौरस्थित समाज कल्याण परिषद्दको खुला क्षेत्रका लागि विरोध प्रदर्शनका लागि स्थान तोकिएको छ ।

त्यसैगरी ललितपुरका ६ स्थान (च्यासल खेल मैदान, गोदावरी बसपार्कको खाली क्षेत्र, भैंसेपाटी छ्यासीकोटको खुला ठाउँ, बज्रबाराहीको खुला ठाउँ र लुभु लामाटार) र भक्तपुरको सल्लाघारी खुला मैदानलाई पनि विरोध प्रदर्शनका लागि तोकिएको छ । तोकिएका स्थानबारे अन्यत्र प्रदर्शन गरे कारबाही गरिने प्रजिअ शर्माले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org