ताजा समाचार

भारतीय बजारमा पेट्रोलियमको मूल्य आकाशिँदा,तस्करीबाट भारत नै फर्किन थाल्यो पेट्रोल

लिटरमै ३१ रुपैयाँ सस्तो भएपछि तस्करीबाट भारत नै फर्किन थाल्यो पेट्रोल

काठमाडाैँ १७,असोज । पछिल्लो समय भारतीय बजारमा पेट्रोलियमको मूल्य आकाशिँदा तुलनात्मक रुपमा सस्तो रहेको नेपालबाट तस्करी भएर भारतीय बजारमै जाने क्रम बढेको छ। नेपाल आयल निगमका अनुसार भारत र नेपालमा पेट्रोलियमको मूल्य अन्तर अत्यधिक हुँदा यसरी तस्करी मौलाएको हो।

निगमका निमित्त प्रबन्ध निर्देशक सुशील भट्टराईका अनुसार पछिल्लो पटक नेपाल र भारतको सीमाक्षेत्रमा पेट्रोलको मूल्य अन्तर प्रतिलिटरमै ३१ रुपैयाँ पुगेको छ भने डिजेलको यस्तो अन्तर ३० रुपैयाँ छ। ‘पारि भारतीय बजारमा पाइने त्यही पेट्रोल नेपाली बजारमा ३१ रुपैयाँ सस्तो छ,’ निगमका प्रबन्ध निर्देशक भट्टराई भन्छन्, ‘समयमा मूल्य समायोजनमा ध्यान नदिँदा यो अवस्था आएको हो।’

करिब ३ महिनाअघि यस्तो मूल्य अन्तर पेट्रोलमा करिब २० र डिजेलमा २४ रुपैयाँ थियो। यसबीचमा डलरको विनिमय दर र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्यमा आएको तीव्र वृद्धिले भारतीय बजारमा पेट्रोलियमको भाउ उच्च छ। यसले गर्दा अहिले भारतीय बजारमा पेट्रोलियमको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। उच्च कर र दैनिक मूल्य समायोजनले भारतीय बजारमा अहिले पेट्रोलियमको भाउ अत्यधिक पुगेको छ। तर, सोही हिसाबमा मूल्य समायोजन नहुने र कर पनि तुलनात्मक रुपमा कम हुँदा अहिले नेपाली बजारमा भारतमाभन्दा पेट्रोलियमको मूल्य कम छ।

उच्च मूल्य अन्तर, खुला सिमाना, कम दुरी र सुरक्षा व्यवस्था फितलो हुँदा यस्तो तस्करी बढेको निगमका प्रबन्ध निर्देशक भट्टराई बताउँछन्। सीमानाकाबाट दैनिक वारपार गर्ने ठूलो संख्याका ट्रक, ट्यांकर, लरी लगायत र कतिपय अवस्थामा आउजाउ गर्ने मानिसहरुबाटै पनि यस्तो तस्करी हुने गरेको ठहर निगमको छ।

नाकाबन्दीदेखि फस्टाएको तस्करी 
अहिलेभन्दा करिब ४/५ वर्षअघि नेपालमा भन्दा भारतमा पेट्रोलियमको मूल्य सस्तो थियो।

त्यतिबेला नेपालमा भन्दा भारतमा करिब १८ देखि २० रुपैयाँ सस्तोमा पेट्रोलियम पाइन्थ्यो। तर, त्यसपछिका समयमा भारतले कर बढाउन र छोटो समयमै मूल्य समायोजन गर्न थालेपछि भारतमा पेट्रोलियमको भाउ उकालो लाग्दै गयो भने नेपालको मूल्य संरचनामा कुनै फेरबदल आएन। नेपालमा भने त्यसयता थुप्रै पटक मूल्य घटाउने क्रम रह्यो।

‘मूल्य निर्धारणमा भारतीय बजारसँग तादाम्य मिलाउन नसक्दा अहिले यो तस्करी हुने अवस्था आएको हो,’ निगमका प्रबन्ध निर्देशक भट्टराई भन्छन्।

२०७२ सालमा भारतले नाकाबन्दी लगाएपछि त सिमानाकामा अत्यधिक तस्करी मौलायो। त्यो प्रवृत्ति अझै पनि रोकिन सकेको छैन।

निगमले माग्यो गृहको सहयोग
निगमका अनुसार अहिले मूलतः २ र ५ नम्बर प्रदेशका सीमा क्षेत्रमा यस्तो तस्करी बढी हुन थालेको छ।

तस्करी बढ्न थालेपछि केही दिनअघि निगमले गृह मन्त्रालयसँग सहयोग माग गरेको छ। ‘तस्करी रोक्न सुरक्षा व्यवस्था थप चुस्त बनाउन र जाँचपास प्रभावकारी देखिएको छ,’ उनी भन्छन्।

अहिले एकैपटक मूल्यमा ठूलो परिवर्तन ल्याउन सक्ने अवस्था नरहेका कारण सुरक्षा संयन्त्रमार्फत नै तस्करी रोक्नुपर्ने दावी निगमको छ। तेलमा अपचलन बढ्न थालेपछि निगमले पछिल्लो समय ट्यांकरमा लकिङ प्रणाली सुरु गरे पनि अन्य सवारी साधनबाट अपचलन हुने क्रम रोकिन सकेको छैन

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org