ताजा समाचार

‘कांग्रेस अब चुप लागेर बस्दैन’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले तिहार र छठलगत्तै आफ्नो पार्टीले सरकारविरुद्ध कडा आन्दोलन गर्ने घोषणा गरेका छन् ।  उनले सरकारले गरेको गलत गतिविधिका लागि चुप लागेर नबस्ने बताउँदै संघर्ष गर्ने बताए ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महतले भने,‘ओलीजीको सरकार गठन भएपछि जनतामा ठूलो आशा थियो । तर, यसले अहिले जनताको आशालाई निराशामा परिणत गरिदिएको छ । छोटो अवधिमा नै जनता सरकारसँग निराश भएका छन् । हाम्रो पार्टीले मुलुकको पछिल्लो समग्र परिस्थितिको बारेमा मुल्यांकन गर्नेछ । सरकारका कारण पैदा भएको निराशालाई जनताको बीचमा लिएर जान्छौं ।’
साक्षात्कारमा बोल्दै महतले आफूहरूले सरकारका गलत क्रियाकलापबारे अहिले खबरदारी गरिरहेको जनाए । यद्धपी उनले आवश्यक पर्यो भने छठपछि सरकारविरुद्ध सशक्त रुपमा सडक र सदनमा संघर्ष गर्ने बताए ।

उनले भने,‘चाडबाड सकिएलगत्तै हामी सरकारविरुद्ध आन्दोलन छेड्छौं । केही समय दिउँ भनेर नै हामी माइल्ड विरोध गरेका हौं । अब सदन र सडकमा सरकारका गलत क्रियाकलापबारे सशक्त रूपमा उत्रिन्छौं ।’ उनले पार्टीको अब बस्ने केन्द्रिय कार्य समिति र महासमिति बैठकमा समेत सरकारको गलत क्रियाकलापविरुद्ध कसरी अघि बढ्नेबारे बृहत्त छलफल गर्ने जानकारी दिए ।

महतले भने,‘सरकारले आफूले जे चाह्यो, त्यही गर्न पाउने लाईसेन्स पाएको ठानेको छ । यसलाई हामीले दुर्भाग्यपूर्ण ठानेका छौं । त्यतिमात्रै होईन, सरकारले संवैधानिक निकाय र न्यायालयलाई पनि छायाँमा राख्ने काम गरेको छ । सुरक्षा निकाय र कर्मचारीतन्त्रलाई व्यवसायिक रुपमा काम गर्न दिईएको छैन । पार्टीप्रति बफादार हुनेहरुलाई मात्रै बढुवा र सरुवा गर्ने काम सरकारले गरिरहेको छ ।’
ओली सरकारले आफूलाई भोट नहाल्नेजतिलाई विभेद गरिरहेको पनि उनले आरोप लगाए । उनले भने,‘सरकार उदासिन बनेको छ । चरम महँगी भएको छ । यस्तो मुल्यवृद्धि यसअघि भएकै थिएन् । सरकारले मिलेमतोको संस्कृतिलाई प्रोत्साहन गरिरहेको छ । कानूनलाई होईन, हामीलाई फलो गर भन्ने उद्देश्यले उहाँहरुले जनतालाई व्यवहार गरिरहनुभएको छ ।’

स्थानीय तहदेखि केन्द्रसम्म जनतालाई करको भारमा पारेको आरोप लगाउँदै महतले भने,‘यसले गर्दा मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्रिने कुरा निरुत्साहित बनेको छ । यसअघिका सरकारको तुलनामा अहिले लगानी स्वात्तै घटेको छ।’
मुलुकमा पछिल्लो समय व्यापार तथा व्यवसाय गर्ने वातावरणसमेत नबनेको उनको गुनासो छ । उनले भने,‘अहिले रुल बेस्ड प्रणाली छैन । जनतामा करको मार अत्यधिक परेको छ । यसले मुलुकमा रोजगारीको अवसर सिर्जना हुन सकेन। यो पाराले कसरी मुलुक समृद्ध हुन्छ ?’

उनले पछिल्लो समय सरकारका कारण मुलुकमा संस्थागत भ्रष्टाचार मौलाएकोपनि आरोप लगाए । महतले थपे,‘वाईड बडी खरिदमा पनि ठूलो भ्रष्टाचार भएको छ । बुढीगण्डकी जलविद्युत परियोजनामा त्यस्तै भएको छ । चिनी काण्डपनि त्यस्तै छ । सरकारमा बसेकाहरुले राष्ट्रलाई होईन, व्यक्तिको फाईदा हेरेर आँखा चिम्लिएर भ्रष्टाचार गरिरहेका छन्।’
पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता महतले वर्तमान ओली नेतृत्वको सरकारको क्रियाकलापबाट उत्पन्न अहिलेको परिस्थितबाट जनताले चाँडोभन्दा चाँडो मुक्ति चाहेको बताए । उनले भने,‘ओलीजीले भनेजस्तो अब समृद्ध नेपाल र सुखी नेपाली नारा पूरा हुने कुनै छाँटकाँट छैन् । अब मुलुक समृद्ध र जनता सुखी हुने होईन, यही पाराले त जनता झन–झन दुःखी हुनेछन् ।’

सरकारको पछिल्ला गतिविधिहरुलाई आफूहरुले गम्भिरताका साथ हेरिरहेको उनले स्पष्ट पारे । उनले भने,‘जनताका आवाज, पीर, मर्कामा हामी सशक्त भूमिका निर्वाह गर्छौं । चुप लागेर बस्दैनौं ।’ आउने निर्वाचनमा आफ्नो पार्टी एक्लैले सरकार बनाउने पनि उनले घोषणा गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org