ताजा समाचार

ओलीभन्दा प्रचण्ड गतिशील : डा.केसी

 

काठमाडौँ । राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले तुलनात्मक रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा प्रचण्ड राम्रो र गतिशील नेता भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

डा.केसीले भने,‘अहिलेका नेताहरूमा प्रचण्ड गतिशील छन् । तर,उनको त्यो गतिशीलता हाम्रो लागि प्रयोग भएन । उनकै छोरी र बुहारीको लागि त्यो ‘डाईनामिज्म’ लागू भयो ।’

उनले सरकारले जनताका चाहना र आकांक्षा पूरा गर्नेगरि काम गर्न नसकेको स्वीकार गरे । उनले भने,‘अब जनताका चाहनाअनुसार काम गर्नुपर्छ । काममा ब्रेक–थु हुनुपर्छ ।’ उनले कामको हिसाबले यो सरकार पूर्ण रुपमा असफल भैसक्यो । निर्वाचनका ताका जनतामा गरेका प्रतिबद्धता र वाचाहरु यो सरकारले अहिले पूर्ण रुपमा छोडिसक्यो । हुन त मलाई त्यतिवेलापनि यीनीहरुले बोलेका कुरा कुनैपनि हालतमा पूरा गर्छन भनेर विश्वास थिएन र सम्भव पनि थिएन भनेर लागेको थियो । अहिले त्यही भयो ।’

सरकारले बोलेका कुराहरू केही पनि पूरा नगरेको उनको गम्भीर आरोप छ । उनले भने,‘खाल्डाखुल्डीहरू पुर्छु भन्नुभयो । तर, त्यो काम पूरा भएन् । मन्त्रीहरुले ठेकेदारहरुलाई कारबाही गर्छौं भनेर ठूलो स्वरमा बोल्नुभयो । त्यसमा पनि केही भएन् । सिण्डिकेट हटाउँछौं भन्नुभयो । तर, एकाधिकार अहिलेपनि कायमै छ । सुन काण्डमा पनि त्यही हाल भयो । गृहमन्त्री बादलले त भ्रष्टाचारीहरूको पाता कस्छु भन्नुभयो। तर, कारबाही केही पनि भएन् । प्रचण्डले बोलाएर उनलाई गृहमन्त्री हुने की सिंघम बन्ने भनेर सोधेपछि उहाँ चुप लाग्नुभयो । त्यसपछि निर्मला पन्तको बलात्कारपछि हत्याको प्रकरण आउन थाल्यो ।’

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलेसमेत यो सरकारले काम गर्न सकेन भनेर सैद्धान्तिक कुरा उठाएको उनले सुनाए । उनले भने,‘अहिले हेर्नुहोस्, नियुक्ती प्रकरणले ओली अहिले आलोचित बनेका छन् । झलनाथ खनाल, माधव नेपालले पनि यो सरकारको बारेमा आलोचना गरिरहेका छन् । माधव नेपालले त हाउसभित्रै तमासा देखाउनुभयो । तर, पछि उहाँले ओलीको विकल्प छैन भन्नुभयो । प्रचण्डजीले त सरकारको ‘गियर’ बढाउनुपर्छ भन्नुभएको छ ।’

ओली सरकारले कुनैपनि क्षेत्रमा आशातित नतिजा नदेखाएको उनको गम्भिर आरोप छ । उनले भने,‘ओलीले किन पश्च्गामी शैलीमा काम गर्न थाल्नुभयो ? मैले बुझन् सकेको छैन् । नाकाबन्दीको बेलामा उहाँले राष्ट्रिय अडान लिनुभयो । हामीले पनि उहाँलाई सफल नेताको रुपमा चित्रण गरेकै हो । मैले त झनै सफल नेता र विकासको ‘एसेट’ को रुपमा लिएको थिएँ । तर, मैमाथि त्यतिवेला प्रश्न खडा भयो ।’
उनले मुलुकमा उद्योग तथा लगानीको वातावरण पनि नबनेको चित्रण गरे । केसीले ओली सरकारले जनतामा कुनैपनि आशालाग्दो नतिजा नदिएको जिकिर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org