ताजा समाचार

पूर्वमा धानको उत्पादन १२ प्रतिशतले वृद्धि

 

विराटनगर  ।  पूर्व क्षेत्रको प्रदेश नंं १ मा यस वर्ष वर्षे धान १२ लाख ४१ हजार ६३९ मेट्रिक टन उत्पादन भएको कृषि निर्देशनालय कार्यालय विराटनगरले जनाएको छ ।

गएको वर्षभन्दा यस वर्ष धानको उत्पादन १२ प्रतिशतले बढेको हो भने रोपाइँ ९६.३२ प्रतिशत भएको थियो । यस प्रदेशमा तीन लाख २३ हजार १८८ हेक्टर जग्गामा धान लगाइएको थियो भने उत्पादकत्व ३.८४ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको निर्देशनालयको भनाइ छ ।

गएको वर्षमा तीन लाख २२ हजार १८३ हेक्टर जग्गामा धान लगाइएको थियो भने कूल उत्पादन ११ लाख आठ हजार ६०६ मेट्रिक टन धान उत्पादन भएको र उत्पादकत्व ३.४४१ मेट्रिक टन प्रतिहेक्टर रहेको निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकृत प्रकाश डांगीले जानकारी दिनुभयो ।

गएको वर्षभन्दा यस वर्ष एक हजार पाँच हेक्टर जग्गामा धान लगाइएको छ भने उत्पादन पनि एक हजार ३३ हजार ३३ मेट्रिक टन धान बढी फलेको हो ।

अनुकूल मौसम, बीउको सहजता, रासायनिक मलको आपूर्ति व्यवस्था राम्रो र कृषि प्राविधिकको निरन्तर सल्लाह र सुझावका कारण धान उत्पादन बढेको वरिष्ठ कृषि प्रसार अधिकृत डांगीको भनाइ छ ।

प्रदेश नं १ मा धान लगाउने क्षेत्रफल तीन लाख ३५ हजार ५२९ हेक्टर जग्गा भए पनि अन्यबालीले ठाउँ ओगट्न थालेपछि धान खेतीको क्षेत्रफल घटेको हो । उच्च पहाड (ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा ९८.७० प्रतिशत, मध्य पहाड (इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा, खोटाङ र उदयपुर) मा ९०.१८ प्रतिशत र तराई (झापा, मोरङ र सुनसरी) ९८.३२ प्रतिशत धान रोपाइँ भएको थियो ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार ताप्लेजुङमा आठ हजार ५६२ हेक्टर, सङ्खुवासभामा १३ हजार ७१२ हेक्टर, सोलुखुम्बुमा एक हजार ५२५ हेक्टर, पाँचथरमा आठ हजार ८३४ हेक्टर, इलाममा १३ हजार ३३३ हेक्टर, भोजपुरमा १५ हजार ३७८ हेक्टर, तेह्रथुममा आठ हजार २४१ हेक्टर, धनकुटामा सात हजार ७११ हेक्टर, उदयपुरमा १२ हजार ७११ हेक्टर, ओखलढुङ्गामा तीन हजार ५२२ हेक्टर, खोटाङमा १२ हजार २५३ हेक्टर, झापामा ८७ हजार ६२ हेक्टर, मोरङमा ७६ हजार ४४० हेक्टर, सुनसरीमा ५३ हजार ९०० हेक्टर जग्गामा धान लगाइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org