ताजा समाचार

वरिष्ठ चिकित्सक गोविन्द १६ औं सत्याग्रह बस्न इलाममा

काठमाडौँ । वरिष्ठ चिकित्सक गोविन्द १६ औं सत्याग्रह बस्न इलाम पुगेका छन्। आफूसँग भएको सम्झौता अनुसार माग पूरा गराउन सरकारलाई दिएको समयसीमा सकिएलगत्तै उनी सत्याग्रह बस्न इलाम पुगेका हुन्।

केसीले बुधबारबाट अनसन बस्ने तयारी थालेका छन्। केसी पन्ध्रौं अनसन बस्न जुम्ला पुगेका थिए।

केसीले आफ्नो माग पूरा गर्न सरकारलाई १७ गतेसम्मको समयसीमा दिएका थिए। सो समयसीमामा माग पूरा हुन नसकेपछि सत्याग्रह थाल्न केसी इलाम पुगेका हुन्।

केसी–सरकार वार्ता टोलीका संयोजक डा. अभिषेकराज सिंहका अनुसार यसपालि केसी सार्वजनिकस्थलमा सत्याग्रह बस्नेछन्। अस्पतालमा सत्याग्रह बस्दा सेवा प्रभावित भएको गुनासो आएकाले यसपालि सार्वजनिक ठाउँमा बस्ने केसीको इच्छा रहेको सिंहले बताए। तर, केसीले सत्याग्रह बस्ने ठाउँबारे केही बताएका छैनन्।

आफ्नो माग बमोजिम चिकित्सा शिक्षा विधेयक अघि बढाउन केसीले माग गरिरहेका छन्। चिकित्सा शिक्षा विधेयकबारे संसदको शिक्षा तथा स्वास्थ्य समितिमा छलफलको क्रममा छ। उनले आफ्नो माग बमोजिम राजधानीबाहिर नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने र सिटिइभिटी मातहतका शैक्षिक कार्यक्रम विधेयकमा समेट्न आग्रह गरेका थिए।

तर, राजधानीबाहिर नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने विषयमा समितिमा सहमति जुटेको छैन। सिटिइभिटीका शैक्षिक कार्यक्रम शिक्षा मन्त्रालय मातहत राख्ने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अडान राखेका छन्।

यसैबीच, शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले केसीसँग थप केही समय मागेकी छिन्। उनले केसीको मागबमोजिम नै विधेयक अघि बढ्ने भन्दै समय मागेकी हुन्। ‘एक दुई दिनभित्रै विधेयक टुंगोमा पुग्छ, डा. केसीको मर्म र भावना जे छ त्यसैअनुसार विधेयक लैजान्छौं,’ घर्तीले सेतोपाटीसँग भनिन्। विधेयकबारे बुधबार पनि उपसमिति र समितिमा छलफल हुने उनले बताइन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org