माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजना शिलान्यास
नुवाकोट ।
माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनाको आज नुवाकोटको किस्पाङ गाउँपालिकाको पैरेबेँसीमा शिलान्यास भएको छ ।
नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले शिलान्यास गरेका हुन् ।
कार्यक्रममा मन्त्री पुनले आयोजना तोकिएकै समयमा निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्दै नेपाललाई आन्तरिक प्रयोजनका लागि १० हजार मेगावाट बिजुली आवश्यक रहेको बताए । “विदेशमा बिक्रीका लागि होइन, हामी आफ्नै लागि अबको केही वर्षमा १० हजार मेगावाट बिजुली आवश्यक पर्छ । हिउँदमा १० हजार मेगावाट उत्पादन हुन कम्तीमा पनि १५ हजार मेगावाट उत्पादन हुने आयोजना चाहिन्छ”, उनले भने ।
मन्त्री पुनले अहिले ‘रन अफ रिभर’ (बहाव) मा आधारित धेरै आयोजना भएकाले सरकारले अब जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राखेको बताए । उनले जलविद्युत्मा नागरिकको लगानीको अवसर प्रदान गर्न ‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराको कार्यान्वयन गरिरहेको समेत बताए ।
मन्त्री पुनले जलविद्युत्मा आत्मनिर्भर भएमा देशले भोगिरहेको व्यापार घाटासमेत घट्ने र सरकारले लिएको दुई अङ्कको आर्थिक वृद्धिदरको लक्ष्यलाई हासिल गर्न समेत सहयोग पुग्ने बताए । कार्यक्रममा ऊर्जा सचिव दिनेश घिमिरेले आयोजनालाई समयमा नै सम्पन्न गराउन स्थानीयवासीको सहकार्य र भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक एवम् आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका अध्यक्ष कुलमान घिसिङले माथिल्लो त्रिशूली थ्री बी निर्धारित समयभन्दा अगाडि नै निर्माण गर्न सकिएमा मुलुकभर भरपर्दो र नियमित विद्युत् आपूर्तिमा ठूलो योगदान पुग्ने बताए । उनले आयोजना तोकिएको समयभन्दा अगाडि निर्माण सम्पन्न गराउन सबैले आ–आफ्नो ठाउँबाट आवश्यक सहयोग र समन्वय गर्नुपर्ने बताए ।
कार्यक्रममा सांसद हितबहादुर तामाङ र नारायणप्रसाद खतिवडाले स्थानीयवासीले विद्युत् उत्पादनका लागि आफ्ना उत्पादनमूलक जग्गा जमीन प्रदान गरेकाले स्थानीयवासीको योगदानको बेवास्ता नगर्न आयोजनालाई आग्रह गरे । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ र जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्टले सरकारले अब जलाशययुक्त आयोजनालाई प्राथमिकता दिन आग्रह गर्दै आयोजना निर्माणमा आवश्यक समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
इञ्जिनीयरिङ, खरिद तथा निर्माण (इपिसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इञ्जिनीयरिङसँग २९ माघ २०७४ मा तीन करोड १८ लाख ४७ हजार अमेरिकी डलर र रु एक अर्ब ९१ करोड ४६ लाखमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताअनुसार ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रो–मेकानिकल र हाइड्रो–मेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको ढाँचा, निर्माण तथा जडान गर्नेछ ।
कार्यकारी निर्देशक घिसिङले ठेकेदार कम्पनीले हाल निर्माण कार्यका लागि आवश्यक सम्पूर्ण निर्माण उपकरण तथा सामग्रीको परिचालन गरी मुख्य सुरुङ (३८०० मिटर), विद्युत् गृह, सर्ज ट्याङ्कलगायतका संरचनाको काम शुरु गर्ने अवस्थामा रहेको जानकारी दिनुभयो । तीन वर्ष निर्माण अवधि रहेको आयोजनाको काम २९ फागुन २०७७ भित्र सक्ने लक्ष्य तय गरी काम भइरहेको उनले बताए ।
नुवाकोट र रसुवामा निर्माण हुने आयोजना प्राधिकरणले अहिले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए को क्यास्केड आयोजना हो । क्यास्केड भएकाले माथिल्लो त्रिशूली थ्री बीले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनुपर्ने छैन ।
आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत शेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटवासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको पाँच प्रतिशत शेयर रहनेछ ।
अनुमानित निर्माण लागत रु सात अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज रु ७८ करोड रहेको आयोजनामा ३० प्रतिशत इक्विटी (दुई अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण ९पाँच अर्ब ७६ करोड०बाट लगानी जुटाइएको छ । आयोजनामा नविल बैंकको अगुवाइमा गठन भएको सह–वित्तीयकरणमार्फत ऋण लगानी हुनेछ । प्रवद्र्धक कम्पनी र बैंकबीच २०७५ भदौ ४ मा ऋण सम्झौता भइसकेको छ ।
आयोजनाबाट सुख्खायाममा (मङ्सिर १६ देखि जेठ १५ सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा (जेठ १६ देखि मङ्सिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद–बिक्रीका लागि प्राधिकरणसँग २०७५ भदौ ६ गते विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भइसकेको छ ।
विद्युत् बिक्रीबाट वार्षिक करीब रु एक अर्ब ८९ करोड आम्दानी हुने कम्पनीका प्रबन्ध सञ्चालक मोहन गौतमले बर्ताए । आयोजनाको विद्युत् आयोजनाको विद्युत् गृहबाट करीब तीन किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली थ्री बी सबस्टेशनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुनेछ । आयोजनाबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनको निर्माण थालिसकेको छ ।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












