ताजा समाचार

पाठकमाथि अख्तियारले नै अनुसन्धान गर्ने, पाठकलाई ११ वर्षसम्म जेल हुनसक्ने

अख्तियार दुरुपायोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकमाथि अख्तियारले अनुसन्धन गर्न सक्ने महान्यायाधिवक्ता कार्यालयले बताएको छ ।

सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता कार्यालयले घुसकाण्डमा जोडिएका पाठकलाई कारवाही गर्न अख्तियारलाई भनेसँगै अब अख्तियार दुरुपायोग अनुसन्धान आयोगले कारवाही प्रकृया अगाडी बढाउने छ ।

सोमबार अख्तियारले मुद्दा चलाउने कानुनी आधारका बारेमा राय माग गर्दै पत्र लेखेको थियो । अख्तियारले माग गरेअनुसार महान्यायाधीवक्ताको कार्यालयले राय पठाएको स्रोतले जानकारी दिएको छ । आयुक्तको पदबाट राजीनामा दिएका पाठकमाथि संविधान र भ्रष्टाचार निवारण ऐनका आधारमा छानबिन गर्ने राय महान्यायाधीवक्ताको कार्यालयले दिएको हो।

‘भ्रष्टाचार निवारण ऐन अनुसार पूर्व पदाधिकारीको रुपमा मुद्दा चलाउन सक्ने आधार रहेका छन्, जो भ्रष्टाचार संलग्न हुन्छ उसले उन्मुक्ती पाउन सक्दैन, ’ रायमा भनिएको छ, ‘ संविधानको धारा २३९ को उपधारा २ मा महाअभियोग लाग्ने व्यक्तिलाई पदमुक्त भएपछि अख्तियारले नै अनुसन्धान गर्न र गराउन सक्ने उल्लेख छ।’

त्यही धाराको उपधारा ३ मा त्यस्ता व्यक्तिले भ्रष्टाचार मानिने काम गरेको देखिए अदालतमा मुद्दा चलाउन सक्ने भएकाले अनुसन्धानमा वाधा नहुने रायमा उल्लेख छ ।

केही पक्षले पाठकमाथि कारबाही गर्न नमिल्ने तर्क गरिरहेका थिए। महाअभियोग लागिसकेपछि भ्रष्टाचारमा पनि कारबाही गर्न मिल्ने, नभए नमिल्ने उनिहरूको जिकिर थियो । यही विषयमा स्पष्ट हुन अख्तियारले राय माग गरेको थियो ।

अनुसन्धान गरि मुद्दा चल्न सक्ने राय महान्यायाधीवक्ताको कार्यालयले दिएपछि अख्तियारले उक्त घुसकाण्डमाथि छानविन अघि बढाउन सक्ने देखिएको छ । अख्तियारले मुद्दा अघि वढाएर विशेष अदालतमा मुद्दा दायर गरेमा पाठकलाई ११ वर्षसम्म जेल र बिगो र सो बमोजिम जरिवाना हुने देखिन्छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org