ताजा समाचार

मणिपुरबाट उद्धार गरिएका १७९ नेपाली स्वदेश फर्के

भद्रपुर । मानव बेचविखनको जोखिममा परेका १७९ नेपालीलाई उत्तरपूर्वी भारतको मणिपुरबाट उद्धार गरी आज नेपाल ल्याइएको छ । तीमध्ये १४७ महिला र ३२ पुरुष छन् ।

माइती नेपाल र नेपाल सरकारको पहलमा मणिपुरको राजधानी इम्फालबाट उद्धार गरी ल्याइएका उनीहरुलाई आजै काठमाडौँ लगिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले बताए । उनीहरु चढेको छ भारतीय बस आज बिहान ९ बजे पूर्वीनाका काँकडभिट्टाबाट नेपाल आइपुगेको हो ।

मेची भन्सार परिसरमा छ वटा नेपालका बसमा स्थानान्तरण गरी उनीलाई आजै काठमाडौँ पठाइएको छ । नेपालको विभिन्न नाकाबाट मणिपुर पुर्याइएका उनीहरुलाई मानव तस्करीमा संलग्न दलालले अवैध रूपमा म्यान्माको बाटो हुँदै इराक र संयुक्त अरब इमिरेट्स लैजान लागेको अवस्थामा उद्धार गरिएको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले बताए ।

उद्धार गरिएकामध्ये कतिपय बाटोमा बिरामी परेको र धेरैजसो तनावमा रहेको बताउँदै उनले उनीहरूलाई काठमाडौँ लगेर पुनःस्थापनागृहमा राखिने जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल उद्धार गरिएका नेपालीलाई काठमाडौँ पठाउने व्यवस्था मिलाउनका लागि बिहानैदेखि पूर्वी नाका काँकडभिट्टामा खटिएका थिए ।

ती नेपालीलाई इराक र युएइ लैजाने गिरोहमा संलग्न भएको आशङ्कामा नौ जनालाई मणिपुर प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिइएको माइती नेपालका अध्यक्ष खड्काले जानकारी दिए ।

उद्धार कार्यमा भारतस्थित नेपाली दूतावास, भारतीय महिला आयोग, मणिपुरको प्रान्तीय सरकार र त्यहाँको प्रहरीले सघाएको बताइएको छ । मणिपुर प्रान्तका मुख्यमन्त्री एन वीरेन सिंह मणिपुरमा उद्धार गरिएका नेपालीलाई नेपाल पठाउन आफैँ उपस्थित भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org