ताजा समाचार

गणतन्त्रका उपलब्धिहरुको रक्षाका लागि प्रमुख चुनौती विप्लव, वार्तामा नआए नियन्त्रणः गृहमन्त्री बादल

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक उपलब्धिहरुको रक्षाका लागि नेत्रविक्रम चन्द ‘विप्लव’ समूह चुनौतीको रुपमा रहेको बताएका छन्

आर्थिक वर्ष २०७५/०७६ मा गृहमन्त्रालयमा प्रगतिविवरण सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले सरकार अहिलेसम्म विप्वलाई नियन्त्रण गरेरै तह लगाउने रणनीतिमा लागेको बताए ।

‘गृहमन्त्रालयको मुख्य काम शान्ति सुरक्षा कायम गर्दै लोकतन्त्रको रक्षा गर्ने हो। हामी शान्ति सुरक्षा कायम गर्न मूलभूत रूपमा सफल भएका छौँ’, उनले भने, ‘अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिवेदनले पनि त्यही बोलेका छन्। पूर्ण शान्ति छ भन्‍नेमा हामी पनि सहमत छैनौ। तर हाम्रो मान्यता भनेको राजनीतिक स्थायित्व हुनुपर्छ।’

विभिन्न संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नका लागि विप्लव समूह चुनौती रहेको उनले बताए । उनले भने, “कानुनले, संविधानले विध्वंशात्मक गतिविधिलाई छुट दिन भन्दैन, नियन्त्रण नै गर्नुपर्छ भन्छ ।” कानुनी रुपमा सरकारले विप्लव समूहका गतिविधिलाई नियन्त्रण गरिरहेको उनले दाबी गरे । राजनीतिक विषयको हल वार्ताबाट गर्ने कुरामा सरकार सकारात्मक रहेको र वार्ताको आह्वान पनि गरेको उनले बताए । विप्लव समूहले औपचारिक रुपमा कुनै पनि प्रस्ताव वा माग नराखेको उनले बताए । पछिल्लो समय वार्ताको सम्भावना बढेको उनको भनाइ थियो ।

निर्मला पन्त हत्या प्रकरणको राजनीतिकरण भएको मन्त्री थापाले दोहोर्याए । “निर्मला प्रकरण नयाँ होइन । भोलि पनि यस्तो घटना हुन सक्छ । पूर्ण नियन्त्रण गर्न सकिँँदैन । अपराधी बचाउन खोजेको भनेर जसरी आरोप लगाइयो, त्यसमा हामीलाई दुःख छ । नागरिक समाज, मिडियाले सहयोग गर्नुपर्ने हो । मन्त्रालयले कसैलाई छुट दिँदैन” उनले भने । अपराध नियन्त्रणमा प्रहरी ९५ प्रतिशत सफल भएको दाबी गर्दै उनले हिजोको सरकार पनि शतप्रतिशत सफल नभएको दाबी गरे ।

गृह सचिव प्रेमकुमार राईले विप्लव समूह मूलधारमा राजनीतिमा आएपछि देशमा पूर्ण शान्ति हुने बताए । सुन तस्करी सम्बन्धी प्रतिवेदन कार्यान्यवनको चरणमा रहेको र अदालदतबाट पनि कारबाही भइरहेको उनको भनाइ थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org