ताजा समाचार

आज देशैभर मौसममा ठूलै प्रभावः हिमपात र वर्षाको व्यापक सम्भावना

काठमाडाैँ  । भारतको कास्मिरबाट  केही दिनअघि भित्रिएको पश्चिमी न्यून चापीय प्रणालीले आज (बिहीबार) देशैभरको मौसममा ठूलै प्रभाव पार्ने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रणालीका कारण आज मुलुकका उच्च पहाडी तथा हिमाली भेगमा मध्यमसम्म हिमपात हुनेछ भने पश्चिम र मध्य क्षेत्रका केही स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यसैगरी पूर्वका समेत एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

महाशाखाले बिहीबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दैै भनेको छ : मौसम बदलीसँगै वर्षा/हिमपातको सम्भावना रहेको र चिसो रहिरहने हुनाले सतर्कता अपनाउन अनुरोध छ।

‘हिमपात पश्चिमदेखि पूर्वसम्मैका उच्च पहाडी तथा हिमाली भेगमा हुने सम्भावना छ,’ मौसमविद् राजु प्रधानांगले भने, ‘त्यसैगरी वर्षा पनि देशका जुनसुकै स्थानमा हुन सक्ने सम्भावना छ।’

यो पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारसम्म रहने उनले जानकारी दिए। आइतबारदेखि मात्र यसको प्रभाव कम हुने उनको अनुमान छ।

मौसमविद् प्रधानांगका अनुसार न्यून चापीय प्रणालीबाट विकसित बादल पूर्वसम्मै फैलिएको भए पनि अहिले यसको प्रभाव विशेषगरी पश्चिमी क्षेत्रमा बढी छ। पश्चिमबाट भित्रिने यो प्रणाली बिस्तारै पूर्व सर्ने क्रममा छ र यो अहिले देशको मध्य क्षेत्रसम्म आइपुगेको छ।

मौसमविद् प्रधानांगका अनुसार यो जति जति पूर्व सर्छ त्यति त्यति यसको क्षमता पनि कमजोर हुँदै जान्छ र यो प्रणाली पूर्वबाट बाहिरिन्छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org