ताजा समाचार

नेकपा सचिवालयको बैठक बालुवाटारमा बस्दै, राष्ट्रियसभा उम्मेदवारको टुंगो लाग्‍ने

काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ।

आज (बिहीबार) दिउँसो ४ बजेका लागि डाकिएको  सचिवालय बैठकमा रिक्त सभामुखको पद र राष्ट्रियसभा उम्मेदवार चयनबारे छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।

बलात्कारको आरोप लागेपछि तत्कालिन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि उक्त पद खाली छ ।

सभामुख कसलाई बनाउने भन्नेमा नेकपाभित्र तीव्र विवाद छ। प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पटकपटक छलफल भए पनि सभामुख कसलाई बनाउने भन्ने अहिलेसम्म सहमति हुन सकेको छैन।

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको तालिका सार्वजनिक गरिसकेको छ। निर्वाचन आगामी माघ ९ गते हुने भएको छ। कांग्रेसका ७ सहित १९ सांसदको कार्यकाल फागुनमा सकिँदै छ। पदावधि सकिन लागेका सांसदमा नेकपाका ८, राजपाका २, समाजवादीका १ र राष्ट्रपतिबाट मनोनीत (अर्थमन्त्री युवराज खतिवडा) एकजना छन्।

५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले सांसद निर्वाचित हुने व्यवस्था छ। ३ जना भने मन्त्रिपरिषद् सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुन्छन्। स्थायी सदन राष्ट्रियसभाका लागि पहिलोपटक गोला हालेर २, ४ र ६ वर्षे कार्यकाल निर्धारण गरिएको थियो। एक तिहाइ सांसदको कार्यकाल प्रत्येक दुई वर्षमा समाप्त हुन्छ। अब निर्वाचित हुनेको कार्यकाल भने ६ वर्षकै हुनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org