ताजा समाचार

बालुवाटार जग्गा प्रकरणबारे डा. भट्टराईले भनेः मैले पनि अप्ठ्याराे महसुस गरेकाे छु

काठमाडाैँ ।  बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि सोही प्रकरणमा जोडिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख खोलेका छन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया दिँदै उनले अख्तियारको प्रशंसा गरे पनि ‘कतिपय त्रुटि र अपूर्णता’ देखिएको बताएका हुन्।

उनले ट्विटरमा भनेका छन्, ‘देशमा व्याप्त भ्रष्टाचार रुपी क्यान्सरको एउटा अंश ललितानिवास प्रकरणमा अदुअआको प्रयत्न स्वागतयोग्य छ तर प्रथमदृष्टिमा यसमा कतिपय त्रुटि र अपूर्णता देखिन्छ।’

उनले ऐन कानुन र राज्यसंयन्त्र परिणाममुखीभन्दा प्रक्रियामुखी बढी भएकोले यस्तो हुन गएको प्रतिक्रिया दिएका छन्।

त्यस्तै प्रधानमन्त्री निर्दोष र मन्त्री दोषी देखिएको उक्त प्रकरणबारे पनि पूर्वप्रम भट्टराईले आफूले पनि यसमा असहजता महसुस गरेको बताएका छन्।

‘सुर–असुर द्वन्द्वबाट निस्केको कालकूट विष पिएर शिवजी नीलकण्ठ बनेझैँ देशलाई आवश्यक पर्छ भने म पनि नीलकण्ठ बन्न तयार छु !’, उनले भनेका छन्, ‘तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस् ! वा जानी जानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्धले अघि देखिने चाहिँ फस्ने नहोस् !’

अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा पूर्वप्रधानमन्त्री डा. भट्टराई र माधव कुमार नेपाललाई पनि दोषी देखाइएको छ तर उनीहरुविरुद्ध मुद्दा दायर गरेको छैन। तर सोही प्रकरणमा मन्त्री रहेका विजयकुमार गच्छदारसहित तीन मन्त्रीविरुद्ध भने मुद्दा दायर भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org