ताजा समाचार

भूपू गोर्खा सैनिकहरुको एक महिने अल्टिमेटम

काठमाडौं । भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले एक महिनाभित्र आफ्ना मागहरु पूरा नभए आमरण अनसन सुरु गर्ने चेतावनी दिएका छन् ।

बेलायत सरकारले समान व्यवहार नगरेको, सेवाको स्वच्छ मूल्यांकन नभएको र मानवीय व्यवहारसमेत नगरेको भन्दै लामो समयदेखि संघर्षरत गोर्खा सैनिकहरुले एक महिनाभित्र आफ्ना मागहरु पूरा गर्न चेतावनी दिएका हुन् ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै भूपू गोर्खा सैनिकहरुले समान पेन्सन सेवा, नेपालमा बेलायत सरहकै निःशुल्क स्वास्थ्य सुविधा, कटौती तथा मारमा परेका सबैलाई चित्तबुझ्दो क्षतिपूर्ति, बयस्क छोरा-छोरीहरुलाई बेलायतमा निशर्त आवासीय भिसा दिनुपर्ने माग गर्दै भूपू गोर्खा सैनिकहरुले आमरण अनसनको चेतावनी दिएका हुन् ।

विधवाहरुको समान पेन्सनको व्यवस्था हुनुपर्ने, भूपू गोर्खा सैनिकहरुको स्वाभिमान, राष्ट्रियता, मानव अधिकार र सम्मानको अनुभूत गर्नेगरी मागहरु पूरा गर्न नेपाल सरकार र बेलायत सरकारलाई माग गरिएको भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताए ।

भूपू गार्खाहरुले मार्च १५, २०२० सम्मको समयसीमा भित्र दुवै देशले वार्ता समिति गठन गरी वार्ताको सुरुआत गर्ने विश्वास लिएका छन् । उक्त समयसम्म आफ्ना मागहरुका विषयमा गम्भीर नभए आमरण अनसनका साथै मुद्धाहरु लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायमा जाने चेतावनी समेत दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org