ताजा समाचार

कोरोना त्रासः सुनसान बन्दै काठमाडौं, एक दिनमै लाखभन्दा बढी व्यक्ति बाहिरिए

काठमाडाैँ ।   कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रासले मानिस धमाधम गाउँ घर फर्किन थालेपछि काठमाडौं उपत्यका सुनसान बन्दै गएको छ।

विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना संक्रमण भिनित्र नदिन सरकारले शैक्षिक संस्था, अदालतलगायत कार्यालय बन्द गरेपछि काठमाडौंबाट मानिस आफ्नो घर फर्किने क्रम ह्वात्तै बढेको हो।

दैनिक हजारौंकाे संख्यामा मानिस बाहिरिन थालेपछि राजधानी काठमाडौं सुनसानजस्तै बन्न थालेको छ।

शुक्रबार मात्रै १ लाख ३० हजार ८२२ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकमा उल्लेख छ।

विद्यालय, विश्वविद्यालय, सार्वजनिक सभासम्मेलन, सिनेमा हल बन्द गर्न, २५ जनाभन्दा बढी जमघट नगर्न र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन सरकारले आग्रह गरेसँगै उपत्यकामा मानिसको चहपहल स्वाट्टै घटेको छ।

अहिले काठमाडौंका सडक दसैंमा झैं खाली-खाली देखिन्छन् भने मानिसको भिडभाड पनि उति छैन।

ट्राफिक प्रहरीका अनुसार पछिल्ला ३ दिनमा मात्रै ३ लाख २ हजार २ सय काठमाडौंबाट बाहिरिएका छन्।

बिहीबार १ लाख ८ हजार ४ सय ५८ राजधानीबाट बाहिरिएका थिए भने १८ हजार ५ सय ५४ जना भित्रिएका थिए। बुधबार ९५ हजार २ सय ४७ बाहिरिँदा १७ हजार ४ सय ४१ जना काठमाडौं भित्रिएकाे ट्राफिक प्रहरीकाे तथ्यांक छ।

केही दिनयता काठमाडौं उपत्यकबाट बाहिरिने क्रम बढेको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले बताए।

आफ्नो गाउँ फर्किने मानिसको भिडले यतिबेला नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला बल्खुलगायतका बसस्टेसनमा दसैंको जस्तै चहलपहल देखिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org