ताजा समाचार

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन अझै एक साता थप्ने

काठमाडाैँ । आज (मंगलबार) मन्त्रिपरिषद् बैठक बस्दै छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आज मन्त्रिपरिषद् बैठक बस्ने तयारी भइरहेको जानकारी दिए। तर कतिखेर बस्छ भन्ने विषयमा आफूलाई जानकारी नभएको बताए।

‘आज मन्त्रिपरिषद् बैठक बस्छ,’ उनले भने, ‘तर कतिखेर बस्छ, मलाई थाहा हुँदैन।’

तर अर्का स्रोतका अनुसार बैठक अहिले बिहान ११ बजे बस्ने तयारी छ र त्यसले लकडाउनको अवधि कम्तीमा १ हप्ता थप्ने निर्णय गर्ने अनुमान छ।

दोस्रोपटक थपिएको लकडाउन अवधि भोलि अर्थात् बुधबार सकिँदै छ।

विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत ११ गते बिहान ६ बजेदेखि देशभर लकडाउन अर्थात् बन्दाबन्दी गरेको छ। सुरुमा चैत १८ सम्म तोकिएको लकडाउन अवधि पुनः थपेर वैशाख ३ गतेसम्म लम्ब्याइएको छ।

तर कोरोना संक्रमित देखिने क्रम झन् बढ्दै गएपछि सरकारले लकडाउन अवधि लम्ब्याउन खोजेको हो। यो महामारी फैलिन नदिन लकडाउन विश्वमै निर्विकल्प उपाय देखिएकाले नेपाल सरकारले पनि यसलाई प्राथमिकता दिएको हो।

लकडाउन अवधिमा अत्यावश्यक काम नपरीकन घरबाट बाहिर ननिस्कन र क्वारेन्टिन अर्थात् घरमै पनि सकेसम्म अलग अलग बस्न सरकारले देशभरका नागरिकलाई आग्रह गरिरहेको छ।

सोमबारसम्म नेपलामा कोरोना संक्रमितको संख्या १४ पुगेको छ। तीमध्ये एक जना पहिल्यै निको भइसकेकाले अहिले १३ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने देशभर कोरोना परीक्षण जारी छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org