ताजा समाचार

सांसद अपहरण आरोप : उजुरी गर्न पूर्वप्रधानमन्त्री भट्टराईसहितका नेता कठमाडौँ प्रहरी परिसरमा

काठमाडाैँ । नवगठित जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणका दोषीमाथि कारबाहीको माग गर्दै उजुरीका लागि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका नेताहरु महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेका छन्।

उजुरीका लागि आइतबार दिउँसो पार्टीका शीर्ष नेताहरु डा. भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारी, हिसिला यमिलगायतका नेताहरु महानगरीय प्रहरी परिसरमा पुगेका हुन्। उजुरी दिन जानु अगाडि जनताका समाजवादी पार्टीका नेताहरु टेकुस्थित नेपाल उद्योग वाणिज्य महासंघ परिसरमा आन्तरिक छलफल गरेका थिए।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदहरु महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालले समाजवादी पार्टी फुटाल्नका लागि सोही पार्टीका सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई निवासबाटै अपहरण गरेर काठमाडौँ ल्याएको जनता समाजवादीले आरोप लगाउँदै आएको छ।

‘हाम्रो पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण गर्ने नेकपाका सांसदहरु महेश बस्नेत, किसन श्रेवठ र पूर्वआईजीपी सर्वेन्द्र खनाल र यसमा सहयोग पु¥याउने अन्य सबैलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गर्न लागेका हौँ’, प्रहरी परिसरमा रहेका जनता समाजवादी पार्टीका नेता आङकाजी शेर्पाले भने।

नेता शेर्पाले जाहेरीमा अपहरण तथा शरीर बन्धकको मुद्दामा तीनै जनामाथि कारबाही गर्न माग गरिएको बताए।

अहिले परिसरमा जनता समाजवादी पार्टीका नेताहरु र परिसरका एसपी सोमेन्द्रसिंह राठौरबीच छलफल भइरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org