ताजा समाचार

सीमा विवाद समाधान कूटनीतिक तहबाटै होस् : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै भारतले नेपालको भूभाग अतिक्रमण गरेको विषयको कूटनीतिक तहबाट विवाद समाधान गर्नुपर्ने बताएका छन् ।

उनले ६ दशक अघिदेखि नै झण्डै ४ सय वर्ग किलोमिटर नेपाली भूमि भारतले अतिक्रमण गर्दै आएको बताउँदै अहिले मानसरोवर जाने बाटोको बारेमा सरकारले विरोध जनाइसकेको जानकारी दिएका थिए ।

‘भारतले मानसरोवर जाने बाटो उद्घाटन गरेपछि नेपाल फेरि तरंगित भएको छ । यससम्बन्धमा यसको विरुद्धमा विभिन्न ठाउँमा आवाज पनि उठाएर आन्दोलन पनि भयो,’ उनले भने, ‘यो समस्या उत्पन्न भएको छ त्यो समस्या नयाँ होइन । भूभाग मुक्त गर्न र भारतीय सेना फर्काउनका निम्ति नेपाली जनता र नेपाल सरकारले आवाज उठाउँदै आएका छन् ।’

बैठकमा गृहमन्त्री थापाले गतवर्ष भारतले नयाँ नक्सा जारी गर्दै नेपाली भूमिलाई पनि आफ्नो दाबी गरेपछि त्यसविरुद्ध पनि नेपालमा आन्दोलन भएको र सरकारले पनि विरोध जनाएको स्मरण गराएका थिए ।

‘अहिले पनि मानसरोवर जाने बाटोको बारेमा सरकारले विरोध जनाइसकेको छ । यो विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ भन्दै आएको हो,’ उनले भने, ‘अहिले पनि कूटनीतिक पहलबाट समाधान गर्नुपर्छ भन्दै आएको छ । अहिले नेपाली जनताले पनि त्यो कुरा भन्दै आएका छन् ।’

उनले सीमा सुरक्षाको निम्ति सो क्षेत्रमा नेपाली सुरक्षा निकायलाई तैनाथ गर्ने र अहिले छाङरुमा बीओपी राख्ने भन्ने तयर भएको छ जानकारी दिए। यस्तै सो क्षेत्रमा बाटो पनि नभएकाले बाटो निर्माण कार्य पनि चलिरहेको उनले बताए ।

१५ मे २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीहरूबीच भएको सम्झौताको २८ औं बुँदामा लिपुलेक भएर चीनको तिब्बतमा रहेको मानसरोवर जाने सडक निर्माण गर्ने र त्यसलाई दुई देशबीच व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमति भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org