ताजा समाचार

नेपालमा कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु

बुटवल । गुल्मीका पहिलो कोरोना संक्रमित ४१ वर्षीय पुरुषको उपचारका क्रममा रुपन्देहीमा मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

गुल्मी मदाने गाउँपालिका–६ निवासी उनको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा बुधबार मृत्यु भएको हो । उनी जेठ १ गते उक्त अस्पतालमा भर्ना भएका थिए । उनको शुरुदेखि नै आईसीयू कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

अस्पतालका सञ्चालक दुर्गा पाण्डेले मृत्यु भएको पुष्टि गरे ।

जेठ २ गते उनको स्वाब लिएर परीक्षण गर्दा सोमबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

यसअघि सिन्धुपाल्चोकको बाह्रबिसेकी सुत्केरी र बाँके नरैनापुरका क्वारेन्टाइनमा बसेका पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको थियो । उनीहरु दुवैजनाको रिपोर्ट भने मृत्यु भएपछि आएको थियो ।

तेस्रो मृतक गुल्मी मदाने–६ पुर्कोटदहको निमावि स्कुलको प्रधानाध्यापक हुन् । क्रिमसन अस्पताल प्रशासनले बुधबार बिहान उनको मृत्यु भएको पुष्टि गरेको छ । ‘जेठ १ गते गुल्मी मदानेबाट अर्घाखाँचीको सन्धिखर्क हुँदै क्रिमसनमा भर्ना हुन आएका विरामीको जेठ ७ गते मृत्यु भएको छ,’ अस्पतालका जनसम्पर्क अधिकारी चन्द्रकान्त बस्यालले  भने ।

कोरोना शंकास्पद देखिएपछि जेठ २ गते उनको स्वाब निकालेर पीसीआर टेस्टका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो गरेको नियमित पत्रकार सम्मेलनमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी दिइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org