ताजा समाचार

राष्ट्रपतिको आह्वान : नयाँ नक्सा जारी गर्दा जस्तै राष्ट्रिय एकता अरु मुद्दामा पनि होस्

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दलका नेताहरुलाई मुख्य राष्ट्रिय विषयमा राष्ट्रिय एकता कायम गर्न आह्वान गरेकी छन्।

राष्ट्रपति भवन शितल निवासमा बुधबार प्रमुख दलका नेताहरु, पूर्वप्रधानमन्त्रीहरु लगायत नेताहरुसँग गरेको परामर्श उनले सो धारणा व्यक्त गरेकी हुन्।

‘लिम्पियाधुरासहितको नक्सा जारी गर्ने विषयमा जसरी तपाईंहरुले राष्ट्रिय एकता प्रदर्शन गर्नुभयो, त्यस्तै एकता अन्य राष्ट्रिय मुद्दामा पनि गर्नुहोस्’ राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति भण्डारीलाई उद्धृत गर्दै  भने।

सो छलफलमा राष्ट्रपतिले काेराेना संकट नियन्त्रण, चुरे संरक्षण र वातावरण प्रदुषण नियन्त्रणमा पनि यस्तै प्रकारको एकता आवश्यक भएको बताएकी थिइन्।

राष्ट्रपतिले बोलाएको छलफलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोट, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, शेर बहादुर देउवा, बाबुराम भटराई, खिलराज रेग्मी, उपप्रधानमन्त्री इश्वर पाेखरेल, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, वामदेव गाैतम, जनता समाजवादी पार्टीका महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, राप्रपा अध्यक्ष कमल थापा, राष्ट्रिय जनमाेर्चा अध्यक्ष चित्र बहादुर केसी, कांग्रेस नेता रामशरण महत, ज्ञानेन्द्र बहादुर कार्की लगायत उपस्थित थिए।

‘राष्ट्रिय अखण्डताका विषयमा तपाईंहरुले जुन एकता प्रस्तुत गर्नुभो, त्यसका लागि यहाँहरुलाई धन्यवाद दिउँ भनेर बोलाएको हुँ भनेर राष्ट्रपतिले भन्नुभो। हामी नेताहरु धेरै थियौं, कसैले बोलिएन,’ नेता केसीले भने, ‘राष्ट्रपतिले मात्र बोल्नुभयो, प्रधानमन्त्रीले पनि केहि बोल्नुभएन।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org