ताजा समाचार

नेकपा स्थायी कमिटी बैठक: सीमा विवादबारे छलफल गरेर आज सकियो, भोलि ११ बजे फेरि बस्ने

काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको आजको बैठक सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको आजको बैठकमा भारतसँगको सीमा विवादबारे सदस्यहरूले धारणा राखेका थिए।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा १८ जनाले बोलेका थिए। तीमध्ये परराष्ट्र मन्त्रीसमेत रहेका स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले भारतसँग लिम्पियाधुराको सीमा विवाद सुल्झाउन कूटनीतिक पहल  गरिरहेको भए पनि भारतले सकरात्मक तत्परता नदेखाएको बताए।

उनले चीनबाट नेपाली सीमा अतिक्रमण भएको भन्नेबारे पछिल्लो समय आएका समाचार पनि झूटा रहेको स्थायी कमिटी बैठकमा बताए।

अन्य स्थायी समिति सदस्यहरूले लिम्पियाधुरासहितको नक्सा जारी हुनु ऐतिहासिक काम भएको भन्दै सुस्ता क्षेत्रको सीमा विवाद पनि हल गर्नुपर्ने सुझाव दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

उनका अनुसार वक्ताहरूले दुई देशका प्रवुद्ध व्यक्तिहरूले तयार पारेको इपिजी प्रतिवेदन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने खालको भए पनि भारत बुझ्न नमानेकाले समस्या भएको बताएका थिए।

‘अब अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ,’ प्रवक्ता श्रेष्ठले भने।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी थिएनन्। उनले आफू अरू नै काममा व्यस्त भएको भन्दै बैठक चलाउने जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org