ताजा समाचार

एमाले दर्ता गर्न झापाकी सन्ध्या तिवारी निर्वाचन आयोग पुगिन्, प्रचण्डको प्रश्न को हुन् उनी?

काठमाडाैँ । एकिकृत नेपाल कम्युनिष्ट पार्टी भित्र दुई अध्यक्ष र अन्य नेताहरुबीच तिब्र विवाद भइरहेका बेला झापाकी सन्ध्या तिवारीले निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गर्न आवेदन दिएकी छन्।

सो जानकारी पाएपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले उनी को हुन् र किन उनले पार्टी दर्ता गरिन् भनी मंगलबारको स्थायी कमिटी बैठकमा नेताहरुसँग त्यसबारे छलफल गर्न प्रस्ताव गरेका थिए।

‘आयोगमा नेकपा–एमाले दर्ता गर्न आवेदन दिएको भन्ने जानकारी आयो। त्यो सन्दर्भमा हाम्रो पार्टीको कुनै नेता कार्यकर्ताको संलग्नता छ छैन भन्ने पनि प्रश्न उठेकोले स्पष्ट हुन त्यो विषयमा पनि बैठकमा छलफल भयो,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि भने।

दाहालले त्यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि जिज्ञासा राखेका थिए।

‘प्रधानमन्त्रीले म नेकपाको अध्यक्ष हुँ र मेरो त पार्टी यहि नेकपा नै हो भन्नुभयो,’ श्रेष्ठले भने।

गत बैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनलाई सहज हुनेगरी निर्वाचन ऐन संशोधन गर्न अध्यादेश ल्याएका थिए।

त्यसको पार्टी भित्र र बाहिरबाट समेत चर्को बिरोध भएपछि सो अध्यादेश फिर्ता गरिएको थियो।

पार्टी विभाजनको साे प्रसंग सेलाउन नपाउँदै झापाकी तिवारी निर्वाचन आयोगमा नेकपा-एमाले दर्ता गर्न  पुगेपछि नेकपा नेताहरुलाई झस्काएको छ।

त्यस विषयले मंगलबारको बैठकलाई निकै गर्मागर्मी बनाएको एक स्थायी कमिटी सदस्यले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org