ताजा समाचार

नेकपा शीर्ष नेताहरुले ओलीलाई भने : प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्नुस्

काठमाडाैँ । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)मा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्न आग्रह गरेका छन् ।

ओलीले आइतबार भारत र नेपालकै नेताहरुले मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको दाबी गरेका थिए । यसलाई लिएर नेकपाकै नेताहरुले ओलीमाथि प्रश्न गरेका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित १८ जना स्थायी कमिटी सदस्यले ओलीले पार्टी र सरकारको नेतृत्व गर्ने नैतिकता गुमाएको टिप्पणी गरेका हुन् ।

एक नेता भन्छन्, ‘पछिल्लो अभिव्यक्तिपछि उहाँले पार्टी र सरकारको नेतृत्व गर्ने हैसियत गुमाउनु भयो । अब मार्ग प्रशस्त गर्नुस् भनेर वरिष्ठ नेताहरुले राख्नुभएको छ ।’

अरु स्थायी कमिटी सदस्यले पनि त्यही धारणा राखेको उनले बताए ।

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकको सुरुमा पछिल्लो अभिव्यक्तिलाई लिएर अध्यक्ष प्रचण्डले विषय प्रवेश गराएका थिए भने ओलीले जवाफ दिएका थिए । तर प्रचण्ड र ओलीले के–के भनेका थिए भन्ने उनले खुलाएनन् ।

एक नेताकाअनुसार बैठकमा प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरिरहेको भन्दै बचाउ गरेका थिए । सरकारको कामको फेहरिस्त सुनाएका उनले असन्तुष्टि तथा कुण्ठा पालेका तथा पद नपाएकाले मात्र सरकारको काम नदेखेको बताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org