ताजा समाचार

बादलले मुख खोले : ओलीबाट देश र पार्टी चल्न नसक्ने निष्कर्ष

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  अध्यक्ष केपी शर्मा ओलीको समूहमा भनिएका नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले आफ्नो कित्ता स्पष्ट पारेका छन् ।

प्रचण्ड–नेपाल समूहका नेताको भेलामा पुगेका उनले अब ओलीबाट देश र पार्टी चल्न नसक्ने निष्कर्ष सुनाएको भेलाका एक सहभागीले बताए ।

‘समाजवादी आन्दोलनलाई अगाडि बढाउन, उपलब्धि जोगाउन अहिलेको नेतृत्वबाट सम्भव छैन, बदल्नुपर्छ,’ यसबाहेक उनको थप भनाइ थियो, ‘अहिलेको लडाइँ गुटबन्दीका विरुद्ध पार्टी, प्रतिक्रान्तिका विरुद्ध क्रान्ति र दलाल पुँजीवादका विरुद्ध समाजवादको हो । यो हासिल गर्न पार्टी र सरकारमा नयाँ नेतृत्व चाहियो ।’

मंगलबार सचिवालय बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता खनाल, नेपाल, उपाध्यक्ष गौतम र सचिवालय श्रेष्ठसहित १७ जनाले प्रधानमन्त्रीको राजीनामा मागे पनि बादल बोलेका थिएनन् । बुधबार उनी ललितपुरमा भएको प्रचण्ड–नेपाल समूहका नेताको भेलामा सहभागी भएका हुन् । वैशाख तेस्रो साता नेकपामा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग्दा बादल ‘तत्काल राजीनामा दिनुनपर्ने’ पक्षमा उभिएका थिए ।

बुधबार झम्सिखेलमा भएको भेलामा मन्त्री वर्षमान पुन, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल सहभागी भएका थिए । मन्त्री योगेश भट्टराई र लेखराज भट्ट भने भेलामा सहभागी भएनन् ।

भट्टराईले आफू सार्वजनिक कार्यक्रममा जानुपरेकाले आउन नसकेको बताएका थिए । उता बालुवाटारमा प्रधानमन्त्रीले बोलाएको छलफलमा मन्त्री पुन र बस्नेत गएका थिएनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org