ताजा समाचार

विभाजनको संघारमा नेकपा :ओली र प्रचण्डबीचको छलफल नै अन्योल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच विवाद समाधानका लागि गर्ने भनिएको छलफल अन्यौलमा परेको छ।

एकता पूरा नहुँदै पार्टी विभाजनको संघारमा पुगेपछि दुई अध्यक्षबीच निर्णायक छलफलको तयारी गरिएको छ। तर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सत्ताको नेतृत्वबाट राजीनामा दिने विषयमा थप छलफल गर्न अनिच्छुक रहेको सन्देश दिएपछि छलफल अन्यौलमा परेको हो।

‘राजीनामाको विषयमा हो भने छलफल गर्नु आवश्यक छैन भन्ने सन्देश प्रधानमन्त्रीका तर्फबाट आएको छ, प्रचण्डको सचिवालय स्रोतले भन्यो, शर्त राखेर छलफल गर्नुको औचित्य पनि नदेखिएकाले अहिलेसम्म भेटको समय तय भएको छैन।’  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि अहिलेसम्म दुई अध्यक्षबीच भेटवार्ताको कार्यक्रम तय नभएको बताए। पार्टी एकतामा गम्भीर खतरा पैदा भएकाले दुई अध्यक्ष र अन्य शीर्ष तहमा छलफल गर्न आवश्यक रहेको भन्दै हिजो पार्टीको जारी स्थायी कमिटी बैठक भोलीसम्मका स्थगित गरिएको थियो।

त्यसपछि अध्यक्ष प्रचण्डले पार्टी फुट्न नदिन आफूले आज पहल गर्ने बताएका थिए। असार १० गतेदेखि जारी पार्टीको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री ओलीलाई सत्ता र पार्टी दुवैको नेतृत्वबाट राजीनामा दिन दबाब बढाएका छन्। तर प्रधानमन्त्री ओली तत्काल दुवै पद छाड्न तयार नभएपछि पार्टी विभाजनको संघारमा पुगेको विश्लेषण गरिएको हो।  दुई अध्यक्षबीच छलफल नभएपनि दुवै जना आफू निकटका नेताहरुसँग आन्तरिक परामर्शमा रहेको बुझिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org