ताजा समाचार

ओलीको “अर्ली महाधिवेशन” कार्ड विफल, प्रचण्डले भनेः अहिलेको अवस्थामा महाधिवेशन सम्भव छैन

यो अल्मल्याउने प्रस्ताव हो, म सहमत छैन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीको अर्ली महाधिवेशनको प्रस्तावमा आफू सहमत नभएको र छलफल गरेर नल्याइएको प्रस्ट पारेका छन् ।

प्रचण्डको सहमतिमा प्रधानमन्त्री ओलीले शनिबारको सचिवालय बैठकमा अर्ली महाधिवेशन प्रस्ताव गरेपछि वरिष्ठ नेता माधवकुमार नेपाल क्रूद्ध हुन पुगेका थिए । उनले देशव्यापी अभियान लैजाने र दुई अध्यक्षको ‘चोचोमोचो’ नमान्ने बताएका थिए ।

गठबन्धनमा विभाजन आउने खतरा देखेपछि अध्यक्ष प्रचण्डले आइतबार बिहानै नेता नेपालसहित झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए । उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा बादललाई खबर गरेको भए पनि उनीहरू अनुपस्थित रहेको खुमलटार स्रोतले जानकारी दियो ।

बैठकमा नेता नेपालनिकट पाँचजना स्थायी कमिटी सदस्य पनि पुगेका थिए । खुमलटार भेलामा भीम रावल, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, वेदुराम भुसाल, मुकुन्द न्यौपाने, गोकर्ण विष्ट पनि सहभागी थिए । केही प्रचण्डनिकट स्थायी कमिटीसमेत पुगेको बताइएको छ ।

नेपालनिकट स्थायी कमिटी सदस्यहरू खुमलटारबाट बाहिरिइसकेका छन् । भेलामा अर्ली महाधिवेशन मङ्सिरमा सम्भव नभएको र आफ्नो सहमतिमा नल्याइएको प्रचण्डले प्रस्ट पारेका छन् ।

“अहिलेको अवस्थामा अर्ली महाधिवेशन कुनै हालतमा सम्भव छैन, यो अल्मल्याउने प्रस्ताव हो भन्नेमा म ढुक्क छु,” प्रचण्डको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, “सदस्यता नै टुंगो लागेको छैन, महाधिवेशन ख्यालठट्टाको कुरा होइन ।”

उनले सचिवालयमा आएको प्रस्ताव प्रचण्डको सहमतिमा भन्नु निरर्थक कुरा रहेको बताउँदै गठबन्धनका नेता र स्थायी कमिटीका सदस्यहरूलाई विश्वस्त रहन आग्रह गरेका थिए । योसँगै ओलीको महाधिवेशन कार्ड पनि विफल भएको एक स्थायी कमिटी सदस्यले बताए ।

“यो वामदेवलाई प्रधानमन्त्री बनाउने कार्डजस्तै निरर्थक प्रस्तावमा परिणत हुन्छ । आजबाट स्थायी कमिटी नियमित एजेन्डामा प्रवेश गर्छ,” ती सदस्यको दाबी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org