ताजा समाचार

अन्योलमा कांग्रेस महाधिवेशन, देउवाको संकेत असारमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आगामी १४औं महाधिवेशन तोकिएको समयमा सम्पन्न हुनेमा अन्योल बढेको छ ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार ७ देखि १० फागुनका लागि तोकिएको महाधिवेशनको सुरु कार्यतालिका नै कोरोनाका कारण प्रभावित भएपछि महाधिवेशन कहिले हुने भन्नेमा कांग्रेस आफैं अन्योलमा छ ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय महाधिवेशनबारे के गर्ने भन्ने केही छलफल नै नभएको बताए । ‘अहिले त केही कुरा भएको छैन र यसै भन्न सकिने अवस्था पनि छैन, मिटिङ स्थगित भएको छ, पछि छलफल होला,’ महतले राजधानीसँग भने ।

कांग्रेसले महाधिवेशनबारे छलफल गर्न भन्दै पछिल्लो पटक २५ असोजका लागि बोलाएको केन्द्रीय समिति बैठक केन्द्रीय सदस्यहरूमा कोरोना संक्रमण पुिष्ट भएपछि स्थगित गरिसकेको छ । अर्को बैठक कहिले बस्ने भन्ने बारे कुनै निर्णय भइसकेको छैन ।

‘कोरोनाकै कारण पूर्वनिर्धारित कार्यतालिका प्रभावित भइसकेको छ, अनौपचारिक छलफलमा जेठ अन्तिम वा असार पहिलो साता गर्ने भन्नेमा सभापतिको संकेत आएको छ,’ सभापति देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले भने ।
कांग्रेसले पछिल्लो पटक २२ असारमा कोरोना संक्रमणको कारण देखाउँदै पार्टी संरचना समायोजनदेखि क्रियाशील सदस्यता वितरण र पार्टीका तल्ला तहका सबै संरचनाको अधिवेशनको मिति हेरफेर गरेको थियो ।

भदौभित्र आएका क्रियाशील सदस्यका नाममा असोज मसान्तभित्र उजुरी गर्न र कात्तिक मसान्तभित्र क्रियाशील सदस्यतामाथि पुनरावेदन दिन भनिएको छ

कांग्रेसले केन्द्रबाहेकका तल्ला तहका अधिवेशनको मिति कार्यतालिका प्रभावित भएपछि यसअघि नै दुई पटक सारेको थियो । यस पटक समेत केन्द्रीय समिति बैठकबाट कांग्रेसले केन्द्रीय महाधिवेशनसहित सबै अधिवेशन सार्ने तयारी गरेको थियो ।
अन्तरिम संरचना समायोजन र क्रियाशील सदस्यता वितरणका लागि पछिल्लो पटक तोकेको म्याद सकिएर कार्यतालिका प्रभावित भएसँगै आगामी केन्द्रीय समितिबाट फेरि कार्यतालिका परिमार्जन गर्ने तयारी कांग्रेसको छ ।

तर, नेता कृष्णप्रसाद सिटौलाले भने केन्द्रीय समितिको म्याद आगामी फागुनमा नै सकिने हुँदा फेरि ६ महिनाको म्याद थप गर्दा पनि भदौमा नै थप म्याद समेत सकिने भन्दै अन्तिममा गर्नु भन्दा बैशाख वा जेठमा नै महाधिवेशन गर्ने गरी अघि बढ्न सभापति देउवालाई सुझाउँदै आइरहेका छन् ।

२०–२३ फागुन २०७२ मा सम्पन्न १३औं महाधिवेशनबाट चार वर्षका लागि सभापति निर्वाचित भएका देउवाले गत फागुनमा एक वर्षको कार्यकाल थप गरेर आगामी फागुनमा महाधिवेशन गर्ने कार्यतालिका ल्याएका थिए ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै पनि पछिल्लो पटक तोकिएको १० साउनसम्ममा सकिनुपर्ने कांग्रेसको अन्तरिम संरचनाको समायोजनको काम कांग्रेसले अझै सकेको छैन । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले सप्तरी, सिराहा, बारा र सिन्धुपाल्चोक गरी अझै चार जिल्लामा समायोजनको काम बाँकी रहेको जानकारी दिए । यीमध्ये केही जिल्लामा केही वडा र केही स्थानीय तहमा समायोजन नसकिँदा समायोजनको काम अड्किएको छ ।

यसैगरी, क्रियाशील सदस्यता वितरण र नवीकरणको मिति समेत प्रभावित भइसकेको छ । कांग्रेसले त्यसका लगि २५ असारदेखि साउन मसान्तसम्मको समय तोकेको थियो । कांग्रेसले भदौभित्र अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा पठाइसक्न सबै जिल्लालाई निर्देशन गरेको थियो । यो मिति समेत प्रभावित भइसकेको छ ।

भदौभित्र आएका क्रियाशील सदस्यका नाममा असोज मसान्तभित्र उजुरी गर्न र कात्तिक मसान्तभित्र क्रियाशील सदस्यतामाथि पुनरावेदन दिन भनिएको छ । जबकि उजुरी गर्ने समय पनि क्रियाशील सदस्यता वितरण नहुँदै सकिन लागेको छ ।

यसैगरी, ६ पुसमा वडा अधिवेशन, ८ पुसमा ७ सय ५१ स्थानीय तहको अधिवेशन, ११ पुसमा प्रदेशसभा र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १३ पुसमा गर्ने निर्णय कांग्रेसले गरेको छ ।

यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १६ पुसमा र सातै प्रदेशको अधिवेशन ६ माघमा गरिसक्ने निर्णय कांग्रेस केन्द्रीय समिति बैठकले गरेको छ ।

कांग्रेसले हरेक महाधिवेशनमा क्रियाशील सदस्यताकै कारण विवाद हुने गरेकाले यसपटक पहिले नै माग बढेको भन्दै शत प्रतिशत सदस्यता वितरण बढाउने निर्णय गरिसकेको छ ।

जसअनुसार कांग्रेसले हाल कायम रहेको करिब ५ लाख क्रियाशील सदस्यतालाई बढाएर १० लाख अर्थात् दोब्बर बनाउने नीति लिएको हो । तर, समायोजन नसकिएका जिल्लामा कांग्रेसले सदस्यताको फाराम नै पठाएको छैन ।

कांग्रेस विधानअनुसार केन्द्रदेखि बुथ तहसम्म आठ तह छन् । कांग्रेसले ६ हजार ७ सय ४३ स्थानीय तहका वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म गरी आठ तहको नेतृत्व छनोट गर्नुपर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org