ताजा समाचार

नेकपा सचिवालय बैठक आज, कसको रणनीति के ?

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक आज बस्दैछ। बैठक आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दस्तावेजको जवाफ दिने तयारी गरेका छन्। प्रचण्डले कात्तिक २८ गते बसेको सचिवालय बैठकमा १९ पृष्ठ लामो दस्तावेज प्रस्तुत गरेका थिए।

प्रचण्डले दस्तावेज प्रस्तुत गरेसँगै नेकपा विवादको तरंग सतहमा देखिएको हो। दस्तावेजमा ओलीको प्रश्नको जवाफ, ओली प्रवृत्ति र कार्यशैली लगायतका राजनीतिक विषयहरु समेटिएका थिए। ओलीले कार्यकारी अध्यक्ष भएपछि पार्टीमा के जिम्मेवारी पूरा भयो भन्दै सोधेको प्रश्नको जवाफमा प्रचण्डले हलो अड्काएर गोरु चुट्ने काम भएको बताएका छन्।

प्रस्ताव लेखनका लागि ओलीले गत मंसिर ३ गतेको बैठकमा १० दिनको समय मागेका थिए। सोही अनुसार अर्को बैठक आजका लागि तोकिएको थियो। उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने बताएका थिए। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आधारभूतरुपमा प्रधानमन्त्री ओलीको जवाफ तयार पारेका छन्। उनले भनेका छन्, ‘राजनीतिक आरोप सामना गर्न प्रधानमन्त्री तयार हुनुहुन्छ।’

आरोपपत्रको आदानप्रदान तथा तिनको सार्वजनिकीकरणले पार्टी विभाजनमा जान सक्ने त होइन भन्ने प्रश्न उत्पन्न भएका बेला सचिवालय बैठक र प्रधानमन्त्रीको जवाफलाई महत्वपूर्णरुपमा हेरिएको छ। यसअघि ओलीले प्रस्तावमा लगाइएका आरोप सही साबित भए आफू हट्ने अन्यथा आरोप लगाउने हट्नुपर्ने बताएका थिए। ओलीको प्रस्ताव मुलतः प्रचण्डले आफ्नो प्रस्तावमा लगाएको आरोपको प्रतिवादमा केन्द्रित हुने उनी निकटका नेताहरुले बताएका छन्।

प्रस्ताव फिर्ता लिन पटक पटक ओली पक्षले आग्रह गरे पनि प्रचण्ड पक्षले अस्वीकार गरेका छन्। ओलीसँग नेकपा विवादबारे छलफल गर्नसमेत प्रचण्ड तयार नरहेको ओली निकट नेताले आरोप लगाएका छन्। यता कार्यकारी अध्यक्ष प्रचण्ड बैठकबाटै विवादको छिनोफानो गर्ने अडानमा छन्।

नेकपामा कात्तिक अन्तिम हप्ता नेकपामा ‘पत्र-युद्ध‘ चलेको थियो। प्रचण्ड पक्षले कात्तिक २२ गते ओलीलाई बैठकको माग गर्दै पत्र बुझाएको थियो। सो पत्रको जवाफमा २५ गते ओलीले प्रचण्डलाई पत्र लेखेका थिए। त्यस्तै, कात्तिक २८ गते प्रचण्डले पनि ओलीलाई पत्र मार्फत नै जवाफ फर्काएका थिए। त्यस्तै, २८ गतेको सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेका थिए। यी चार वटै दस्तावेजहरु प्रकाशन गरेर प्रचण्ड पक्षले तल्ला तहसम्म पुर्‍याइसकेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org