ताजा समाचार

ओलीको जवाफ अफवाह, घमण्ड र अहङ्कारले पार्टी चल्दैन : प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको ७० औं बैठकमा दिएको जवाफ अहङ्कार र घमण्डले भरिएको बताएका छन् । सचिवालय बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीको प्रत्युत्तरमा अहङ्कार सिवाय केही नदेखिएको बताएका हुन् ।

“मैले राखेको विषयवस्तुलाई आरोपपत्र भन्नुभयो । यहीँनेर तपाईंमा अहङ्कार देखियो । तपाईंको दम्भ, घमण्ड, अहङ्कारले नै समस्या निम्त्याइरहेको छ । फेरि पनि निम्त्याउने छ,” प्रचण्डको भनाइ एक सचिवालय सदस्यले उद्धृत गरे, “तपाईं जसरी प्रस्तुत हुँदै हुनुहुन्छ, यो राम्रो बाटो होइन । बहुमत सचिवालय सदस्यको प्रस्ताव स्वीकारेर जानुको विकल्प छैन ।”

 

ओलीको जवाफलाई प्रचण्डले अफवाहको संज्ञा दिएका थिए । ओलीले दोस्रो केन्द्रीय कमिटीको बैठकले गरेका निर्णय नमानेपछि पार्टीमा समस्या सिर्जना भएको भन्दै त्यसलाई सच्याउनुको विकल्प नभएको प्रचण्डको भनाइ थियो ।

“दोस्रो केन्द्रीय कमिटीको बैठकपछि जसरी मेरा विरुद्ध मेरै समूहका साथीहरूलाई प्रयोग गर्न थाल्नुभयो । पशुपति प्लाजामा बैठक राख्नुभयो,” प्रचण्डको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, “प्रचण्डको मानिस तानेर कसरी एक्ल्याउन सकिन्छ भनेर लाग्नुभयो, त्यही विन्दुदेखि पार्टी, एकता कमजोर भयो ।”

प्रचण्डको भण्डाफोर गर्ने सोच पलाएपछि एकताको आधार भत्किन थालेको उनको भनाइ थियो । “पछिल्लो शृङ्खलासम्म आइपुग्दा तपाईंले अध्यादेश ल्याउनुभयो, आफ्नै, अर्काको पनि पार्टी फुटाउन सांसद अपहरणजस्तो काम गर्नुभयो, यी सबै घटनाहरूले पार्टी एकताको विरूद्धमा को छ भनेर प्रष्ट हुन्छ,” प्रचण्डको भनाइ थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org