ताजा समाचार

राजनीतिक स्वार्थ पूरा गर्न ज्यानै लिने वा साझा सम्पत्ति ध्वस्त पार्ने अमानवीय कार्य स्वीकार्य छैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट प्राप्त हुने सुझाव, टिप्पणी र स्वस्थ आलोचना सरकारका लागि मार्गदर्शक हुने बताएका छन् ।

तर अस्थिरता सिर्जना गर्ने कुरा भने सह्य हुन नसक्ने उनले उल्लेख गरेका छन् ।

विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘लोकतन्त्रको अपरिहार्य अंगका रूपमा रहेका प्रतिपक्षी दल, सञ्चारमाध्यम र नागरिक समाजको रचनात्मक आलोचनाको नेपाल सरकार हमेसा स्वागत गर्दछ । तर आलोचनाको नाममा लोकतान्त्रिक प्रणाली, संस्था र सामाजिक सदभावमाथि नै प्रहार गर्ने, जाग्न थालेको जनताको आशामाथि चिसोपानी खन्याउँदै निराशा, हताशा र कुण्ठा प्रवाहित गर्ने र समाजमा अनन्त अस्थिरता सिर्जना गर्ने कुरा भने सह्य हुन सक्दैन ।’

आफूले ठूलो विश्वासका साथ जिम्मा दिएर पठाएको आफ्नो सरकारलाई खबरदारी गर्ने नागरिकको सार्वभौम हकलाई सरकारले सदैव उच्च सम्मान गर्ने ओलीको भनाइ छ ।

अर्को एक प्रसंगमा प्रधानमन्त्री ओलीले नेपालमा कोरोना संक्रमणको महामारी नियन्त्रणभन्दा बाहिर जानबाट रोक्न सफल भएको दाबी गर्दै अब कोरोना खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पु¥याउन सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् ।

आधुनिक सभ्य समाजमा आफ्ना राजनीतिक स्वार्थ पूरा गर्न अरुको ज्यानै लिने वा राष्ट्रका विभिन्न साझा सम्पत्ति र संरचना ध्वस्त पार्ने जस्ता असामाजिक र अमानवीय कार्य स्वीकार्य नहुने बताउँदै ओलीले त्यस्ता कार्य दण्डनीय हुने पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले मानव अधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना नेपाल सरकारले स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जानकारी पनि दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org