ताजा समाचार

उच्च अदालतद्वारा सांसद चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला

काठमाडौं । उच्च अदालत दिपायलले सांसद रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

बिहिबार उच्च अदालतका न्यायधीशद्वय टेक नारायण कुँवर र सिताराम मण्डलको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो ।

पाँच वर्षअघि नौ जनाको ज्यान जाने गरी कैलालीको टिकापुरमा भएको घटनामा दोषी ठहर गर्दै चौधरीसहित ८ जनलाई जन्मकैदको फैसला सुनाइएको हो ।

उच्च अदालतले थरुहट आन्दोलनका नेता लक्ष्मण थारुलाई पनि जन्मकैदको फैसला सुनाएको हो । यसअघि जिल्ला अदालत कैलालीले थारूलाई तीन वर्षको सजाय सुनाएको थियो । उनी तीनवर्ष भन्दा बढी पुर्पक्षमा रहेकाले जिल्ला अदालतको फैसलापछि छुटिसकेका थिए ।

उच्च अदालतले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद रेशम चौधरीसहित सात जनाको फैसला सदर गरेको उच्च अदालतका रजिष्ट्रार सिता रेग्मीले जानकारी दिइन् ।
जन्मकैदको सजाय हुनेमा लक्ष्मणसहित रेशम चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी छन् ।

सो घटनामा कैलाली जिल्ला अदालतका तत्कालीन न्यायाधीश परषुराम भट्टराईको इजलासले २०७५ फागुन २२ गते रेशमसहित १० जनालाई जन्मकैद (२० वर्ष) को फैसला सुनाएको थियो । हत्यामा संलग्न भनिएका श्रवण चौधरी नाबालक भएकाले उनलाई भने आधा कैद अथवा १० वर्ष मात्रै कैदको फैसला भएको थियो ।

लक्ष्मण थारु, लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तकुमार चौधरी, विश्राम भनिने जीत बहादुर डँगौरा, प्रेम बहाखुर चौधरी, किसनलाल चौधरी, रामप्रसाद चौधरी, दिलबहादुर चौधरी, संगम भनिने सन्तोष थारु (चौधरी), विश्राम चौधरी र चुन्नीराम चौधरीलाई तीन वर्षको कैद सजाय भएको थियो ।

२०७२ साल भदौ ७ गते टीकापुर घटनामा ८ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो ।

जिल्ला अदालतको उक्त फैसलामा चित्त नबुझेको भन्दै जन्मकैदको सजाय पाएका रेशम चौधरी सहितका ११ जनाले उच्च अदालत दिपायलमा २०७६ सालको वैशाखमा पुनरावेदन परेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org