ताजा समाचार

देश स्थिरताको बाटोमा हिँडिरहेका बेला ओलीको असंवैधानिक कदमले देशमा संकट निम्त्यायो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमले देशलाई संकटमा धकेलेको आरोप लगाएका छन् ।

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा भएको भर्चुअल संवादमा मन्तव्य दिँदै सभापति देउवाले देश स्थिरताको बाटोमा हिँडिरहेका बेला ओलीले प्रतिनिधिसभा विघटनमार्फत संकटतर्फ धकेलेको बताए ।

‘‘लामो संघर्षबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनेक्रममा रहेका बेला फेरि पधानमन्त्री ओलीले असंंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरेपछि देश संकटतर्फ धकेलिएको छ । यो कदम असंवैधानिक भन्दै हामीले देशव्यापी विरोध गरेका छौँ,’’ देउवाले भने, ‘‘अहिले यो विषय सर्वोच्च अदालतमा छ । हामी लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले सर्वोच्चलाई स्वतन्त्ररुपमा निर्णय गर्न वातावरण बनाइरहेका छौँ ।’’

उनले सर्वोच्चले डर, त्रासमा नपरी स्वतन्त्ररुपमा निर्णय गर्ने वातावरण बनोस् भनेर आन्दोलन रोकेर फैसला कुरिरहेको जिकिर गरे ।

सभापति देउवाले बीपी कोइराला सिक्किमलाई भारतमा गाभेपछि देशमाथि संंकट आउन लागेको परिस्थितिमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको भन्दै अहिले बीपीको मेलमिलापको सान्दर्भिकता अझ बढेको बताए

‘‘बीपी कोइराला सिक्किमलाई भारतमा गाभिएपछि नेपालमाथि पनि संकट आउन लाग्यो भन्दै राष्ट्रिय मेलमिलाप नीति लिएर फर्कनुभएको थियो,’’ देउवाले भने, ‘‘त्यही जगमा ०४६ सालको जनआन्दोलन भयो र प्रजातन्त्र पुनःस्थापना भयो ।’’

उनले प्रजातन्त्रमाथि पटक–पटक आक्रमण भएको भन्दै ती सबै प्रयत्न असफल पारेर देशमा गणतन्त्र आएको बताए ।

‘‘फेरि राजा ज्ञानेन्द्रले प्रजातन्त्र समाप्त पार्ने प्रयास गरे । गिरिजाबाबुको पहलमा सशस्त्र द्वन्द्वमा रहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने काम भयो । दोस्रो जनआन्दोलन भयो र देशमा गणतन्त्र आएको हो,’’ उनले भने ।

उनले देशलाई हिंसामुक्त बनाएर शान्ति स्थापनाका लागि कांग्रेस लागिरहने बताए । ‘‘पूर्ण हिंसामुक्त देश बनाउनका लागि मानवअधिकारसहितका स्वतन्त्रता हामीले लडेर ल्याएका हौँ । कसैले खोस्न नसक्ने बनाउन चनाखो हुनुपर्छ,’’ देउवाले भने, ‘‘कम्युनिस्ट पार्टी भए पनि लोकतन्त्र मानेर हामीसँगै सहयात्रा गरेर यहाँ आएका हुन् । हामीलाई एकदलीय शासन कुनै पनि हालतमा स्वीकार्य छैन ।’’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org