ताजा समाचार

निर्वाचन गतिविधि रोक्न माग गर्दै प्रचण्ड–नेपाल निर्वाचन आयोगमा

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल निर्वाचन गतिविधि रोक्न माग गर्दै निर्वाचन आयोग पुगेका छन्।

नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता विवाद टुंगो नै नलागेको अवस्थामा आयोगले चुनावी गतिविधि गर्नु नहुने भन्दै दुवै अध्यक्ष आयोग कार्यालय कान्तिपथ गएका हुन्।

सरकारले यही पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको मिति आगामी वैशाख १७ र २७ गते दुई चरणमा गर्ने गरी तोकेको थियो।

सोहीअनुसार आयोगले सबै जिल्लामा निर्वाचनको तयारी गरिरहेको छ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले पनि निर्वाचनको गतिविधि रोक्नुपर्ने निष्कर्ष निकालेको थियो।

सरकारले यही पुस ५ मा प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेर नयाँ निर्वाचन मिति घोषणा गरेकी थिइन्।

सोसँगै सत्तारुढ नेकपाभित्र तीव्र विवाद गहिरिएको छ। अहिले प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल पक्षले आआफ्ना गतिविधि अघि बढाइरहेका छन्। प्रचण्ड–नेपाल पक्षका मन्त्रीले संसद् विघटनसँगै राजीनामा दिएका थिए।

आयोगमा चुनाव चिह्न र पार्टीको नाममा दुवै पक्षले आफू आधिकारिक भएको दाबी गरिरहेका छन्।

निर्वाचन आयोगले त्यसको निरुपण प्रक्रिया थाले पनि टुंगिसकेको छैन। यस्तो अवस्थामा निर्वाचनको प्रक्रिया थाल्नु नहुने प्रचण्ड–नेपाल पक्षको भनाइ छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org