ताजा समाचार

भारत–चीन सम्बन्ध सुधारका लागि मध्यस्थता गर्न तयार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत दुई देश आकारमा सानो ठूलो भए पनि राष्ट्रको हैसियतमा दुबै देश बराबर भएको बताएका छन्।

भारतीय सञ्चारमाध्यम जी न्यूजका सम्पादक सुधीर चौधरीसँगको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले दुई देशका प्रधानमन्त्रीबीच पनि उमेरमा घटी बढी भए पनि दुबैको बराबर हैसियत भएको बताए।

नक्साको विषय पनि संवादबाट सुल्झाउन सकिने प्रधानमन्त्री ओलीको भनाइ थियो। अहिले नेपाल र भारतको फरक–फरक नक्सा भए पनि भोलि निर्क्योल हुँदाको दिन एकै प्रकारका नक्सा बन्ने उनले बताए। ओलीले भारत र चीनबीच सम्बन्ध सुमधुर बनाउन आफूले मध्यस्थता गर्न सक्ने भन्दै ओलीले आफू सी जिनपिङ र मोदीसँग पनि कुरा गर्न सक्ने र त्यसको लागि तयार रहेको बताए।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी भएको स्पष्ट पार्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए। उनले नेपाल भारत र चीनलाई फरक ढंगले व्यवहार गर्ने नभइ पञ्चशीलको सिद्धान्तका आधारमा असंलग्न नीति अंगिकार गरिरहेको बताए।

ओलीले नेपाल कुनै पनि देशको साथमा लागेर अर्को देशविरुद्ध आफ्नो जमिन वा आकास प्रयोग गर्न नदिने जानकारी दिए। उनले भारत र चीनले चाहेमा वार्ताका लागि मध्यस्थता गर्न तयार रहेको समेत जानकारी दिए।

उनले दुवै नेपालका छिमेकी भएकाले कोहिसँग पनि ‘कार्ड’ नखेल्ने बताए।  दुई छिमेकीबीच समस्यारहित सम्बन्ध नेपालले चाहेको प्रधानमन्त्री ओलीले प्रस्ट पारे। प्रधानमन्त्री ओलीले भने, ‘भारत र चीन दुबै देशमा शान्ति कायम भएमा नै नेपाल पनि सुरक्षित हुन्छ।’

चौधरी ओलीलाई खुइलाउने अभियान चलाएका व्यक्ति हुन्। उनले प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीचको भेटको विषयलाई लिएर मानहानी र दुष्प्रचार गरेका थिए।

जसका कारण नेपालका केही मल्टी सिस्टम अपरेटरहरूले भारतीय समाचार च्यानलको प्रसारण बन्द गरेपछि चौधरीले विवादित ट्वीट गरेका थिए। उनले लेखेका थिए, ‘नेपालले भारतीय न्युज च्यानलको प्रसारण बन्द गरेको छ। यो देश त भारतका न्युज च्यानलका एंकरसँगै डरायो त। सेना त अघि सर्नै परेन।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org