ताजा समाचार

पूर्वलडाकु र शहीद परिवारका नाममा ‘गोहीको आँशु’ नचुहाउन पुनको चेतावनी

काठमाडाैँ । नेकपाका (प्रचण्ड–माधव पक्ष) स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले पूर्वमाओवादीका बहिर्गमित जनमुक्ति सेना, अयोग्य लडाकु र शहीद परिवारलाई संगठित गर्न ओली समूहले गोहीको आँसु चुहाएको टिप्पणी गरेका छन्।

पीडितहरूले लामो समयसम्म आन्दोलन गर्दा, पार्टीमा पटक–पटक छलफल हुँदा र आफूले मन्त्रिपरिषद्मा तीन वर्षसम्म लगातार प्रयास गर्दासमेत प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ तयार नभएको उनको भनाइ छ।  गृहमन्त्री थापाले घाइतेहरूले पाउँदै आएको जीवनवृत्ति भत्तासमेत खोसेको पुनले दाबी गरे।

‘बादलजीले ७५ प्रतिशत बढी घाइतेलाई उपलब्ध गराइँदै आइएको १२ हजार ४ सयबाट कटाएर ६ हजार २ सयमा झार्नुभयो। ६ हजार २ सय पाउँदै आएका ५० प्रतिशत घाइतेको पूरै सुविधा खोस्नुभयो’, शनिबार सन्धीखर्कमा आयोजित नेकपा प्रचण्ड–नेपाल पक्षको कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका पुनले भने, ‘मैले धेरैपटक सहजीकरण गरें। हुन्छ हुन्छ भन्दै काम गर्नुभएन। तीन वर्षसम्म घच्घयाउँदा केही नगर्नेले गोहीको आँसु चुहाएर हिजो प्रचण्डले दिएन, हामी प्याकेज दिन्छौं भनेर भाषण गरेको सुनेका छौं।’

डा. बाबुराम भट्टराई प्रधानमन्त्री र आफू अर्थमन्त्री रहेकै बेला बहिर्गमितहरूका  लागि दुई लाख रूपैयाँको राहत प्याकेज घोषणा गर्दा अहिले ओली समूहमै रहेकाहरूले सर्वोच्च अदालतमा रिट दिएको र मुद्दा अझै फैसला नभएको पुनको भनाइ छ। आफूले मन्त्रिपरिषद्मै २००७ सालदेखि झापा आन्दोलन, कांग्रेसको मुक्ति आन्दोलन, ०४६ सालको आन्दोलन, जनयुद्ध र १९ दिने जनआन्दोलनका सबै शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने प्रस्ताव राख्दा अस्वीकार गरिएको पुनले बताए।

तर, अहिले आफू कमजोर भएपछि गुटमा तान्न पीडितहरूप्रति नक्कली सहानुभूति नदेखाउन र विचलित मानसिकताका साथ उनीहरूको भावनामा टेको लाग्ने प्रयास नगर्न ओली समूहलाई चेतावनी दिए।

नेता पुनले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर जनताको अभिमतको अवहेलना गरेको भन्दै निर्वाचन आयोगले आफूहरूलाई चुनाव चिन्ह र दलको आधिकारिकता तथा अदालतले संसद पुनस्र्थापना गर्ने विश्वास व्यक्त गरे।

ओलीसँगै केही मानिस पार्टीबाट बाहिरिएको भन्दै केन्द्रीय समितिका ४ सय ४१ मध्ये तीन सयभन्दा बढीको समर्थन प्राप्त प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपा मुलधार भएको दाबी गरे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org