ताजा समाचार

माओवादी केन्द्रले कांग्रेस र जसपासँग वार्ता गर्न प्रचण्ड र श्रेष्ठलाई दियो जिम्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नयाँ सत्ता समीकरणबारे अरु पार्टीहरूसँग छलफल गर्नका लागि दुई सदस्यीय वार्ता टोली बनाएको छ ।

बुधबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई वार्ताको जिम्मा दिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

मंगलबार पनि माओवादी केन्द्रको बैठक बसेको थियो । बैठकले सरकार गठनका लागि कांग्रेस र जसपासँग वार्ता गर्ने निर्णय गरेको थियो । सोहीअनुसार अध्यक्ष दाहालले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेटेका थिए । नेता श्रेष्ठले सर्वोच्चको फैसलापछि नेकपा एमालेसँग पनि वार्ताका लागि आफूहरु खुला रहेको बताएका छन् ।

कांग्रेससँग छलफल सकारात्मक भए पनि जसपाले भने अझै निर्णय गर्न नसकेको ब्रिफिङ प्रचण्डले बैठकमा गरेको साहले बताए । उनका अनुसार कांग्रेस र जसपासँगको छलफललाई टुंगोमा पुर्‍याउन नै दाहाल र श्रेष्ठलाई वार्ताको जिम्मा दिएको हो ।

यस्तै बैठकले संगठनात्मक संरचनाबारे गृहकार्य गर्न चार सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा पम्फा भुसाल, वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल सदस्य छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org