ताजा समाचार

पेरिसडाँडामा प्रचण्ड र जसपा नेताबीच छलफल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरका साथै वरिष्ठ नेता राजेन्द्र महतोबीच भेटवार्ता भएको छ ।

माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा छलफल चलिरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

बुधबार र मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रमुख प्रतिपक्षी दल कांग्रेस र प्रतिपक्षी दल जसपासँग वार्ता गर्ने निर्णय गरेको थियो । सोही अनुसार दाहालले जसपा नेताहरुसँग छलफल गरेका हुन् । प्रचण्डले मंगलबार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेटेका थिए ।

देउवासँगको भेट सकारात्मक भएको र जसपासँग बुधबार पनि छलफल गरेपछि एउटा निष्कर्षमा पुग्न सकिने ब्रिफिङ दाहालले स्थायी कमिटी बैठकमा गरेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरिदिएपछि नयाँ सत्ता समिकरणको प्रयास अगाडि बढेका छन् ।

जसपाको पनि मंगलबार संसदीय दलको बैठक बसेको थियो । बैठकले रेशम चौधरीलगायत मधेस आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र संविधान संशोधनको मुद्दालाई केन्द्रमा राखेर सबै पार्टीसँग छलफल गर्ने निष्कर्ष निकालेको थियो । बिहीबार जसपाको अध्यक्ष मण्डलको बैठक बस्दै छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org