ताजा समाचार

नेपालमा करिब २५ लाखले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले नेपालमा २५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको बताएका छन्। सह–प्रवक्ता अधिकारीले नेपालमा करिब २५ लाख जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको पनि बताए।

खोप लगाउने क्रम जारी रहेको पनि उनको भनाइ छ। नेपालमा हालसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको पनि उनले बताए। शनिबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सह–प्रवक्ता अधिकारीले हालसम्म भारत सरकारले उपहारस्वरूप दिएको कोभिशिल्ड खोप १० लाख डोज, भारत सरकारसँग खरिद गरिएको कोभिशिल्ड खोप १० लाख डोज, कोभ्याक्स सुविधाअन्तर्गत ३ लाख ४८ हजार डोज प्राप्त भएको र नेपाली सेनालाई १ लाख डोज प्राप्त भएको गरी २४ लाख ४८ हजार डोज कोभिशिल्ड खोप प्राप्त भएको जानकारी दिए।

त्यस्तै, चीनबाट ८ लाख डोज भेरोसेल खोप प्राप्त भई जम्मा ३२ लाख ४८ डोज खोप प्राप्त भएको उनको भनाइ छ। त्यसमध्ये २५ लाख डोज खोप लगाइसकिएको र बाँकी रहेको खोप लगाउने क्रम जारी रहेको डा. अधिकारीले बताए।

७ लाखको हाराहारीमा खोप मौज्दात रहेको भए पनि भेरोसेल खोप लगाउन शुरु गरिएको उनको भनाइ छ। भारतसँग २० लाख डोज खोप खरिद गरेको भए पनि १० लाख मात्रै आएको र १० लाख डोज आउन बाँकी रहेको उनले जानकारी दिए।

यद्यपि भारतसँग छलफल भइरहेको र छिट्टै खोपहरु आउने उनको भनाइ छ। स्पुतनिक भि खोपलगायत अन्य खोपहरू ल्याउने सम्बन्धमा समन्वय तथा कुराकानीहरु भइरहेको पनि बताउनुभयो।

पिसिआर परीक्षण

कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको सम्बन्धमा देशभरि ९० वटा प्रयोगशालाबाट पिसिआर परीक्षण भइरहेको उनले जानकारी दिए। अहिले एन्टीजेन परीक्षणमा पोजेटिभ देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको पिसिआर परीक्षण भइरहेको छ।

पिसिआरको दायरा बढाउन सरकारको तयारी रहेको पनि सह–प्रवक्ता अधिकारी बताए। अहिले निजी तथा सरकारी प्रयोगशालाहरुबाट परिक्षण भइरहेको छ। एन्टीजेन परिक्षण भने मुख्य गरि नेपाल भारत सिमामा भारतबाट नेपाल भित्रिने नेपालीहरुमा गरिएको छ।

स्वास्थ्य सामग्रीको अवस्था

यस्तै, सह–प्रवक्ता अधिकारीले अस्पताल तथा प्रयोगशालाहरुलाई आवश्यक स्वास्थ्य सामाग्रीहरु तीन महिनालाई पुग्ने मौज्दात रहेको बताए। संक्रमणको दर बढ्दै जाँदा मौज्दातमा अशर पर्ने भएकोले आवश्यक स्वास्थ्य सामाग्रीहरु ल्याउनको लागि पनि स्वास्थ्य मन्त्रालयले विभिन्न निकायसँग छलफल गरिरहेको बताए। अहिले आवश्यक पर्ने परीक्षणका सामग्री, उपचारका सामग्री र  अन्य आवश्यक सामग्रीहरुको सहयोगका लागि विभिन्न निकायमा, दाताहरूसँग पत्राचार गरिएको बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org