ताजा समाचार

एमसिसी उनीहरूले ल्याए, सडकमा ढुङ्गा मलाई हान्छन्: ओली

‘आज सरकारसँग पैसा छैन, हात थापेर हिँडेछ', ‘जता हात थाप्यो उतै ओठ लोप्राउँछ, कसैले पत्याउँदैन’

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेका दलहरू नै एमसिसीविरूद्ध सडकमा ढुङ्गामुढा गरिरहेको बताएका छन्।

शुक्रबार पोखरा पुगेका ओलीले एमसिसी ल्याउनेहरूले नै सडकमा तमासा देखाएको आरोप समेत लगाए। देशमा शान्ति सुव्यवस्था नरहेको पनि ओलीले दाबी गरे।

‘देशमा शान्ति सुव्यवस्था छैन, तमासा पनि हदको हुन्छ नि,’ उनले भने, ‘सरकारमा पनि उनै छन्, कार्यकर्ता पठाएर बाटो भत्काउन पठाउँछन्, प्रहरी र मान्छे देख्नै हुँदैन, ढुङ्गा हान्छन्।’

तत्कालीन एमाले नेता झलनाथ खनाल प्रधानमन्त्री हुँदा अमेरिकासँग एमसिसी  माग गरेको ओलीले दाबी गरे।

‘एमसिसी  नेपालमा ल्याइपाऊँ भनेर आफू प्रधानमन्त्री हुँदा निवेदन हाल्ने झलनाथ खनाल बाटोमा हिँड्दा ढुङ्गा हानिदैन, ताली बजाउँछन्, बाबुराम अगाडि बढाउँ भन्छ, ढुङ्गा हानिदैन, कृष्णबहादुर महराले ठिक छ भनेर वार्ता गर्छ, ढुङ्गा हानिदैन, प्रचण्ड-देउवा संयुक्त सरकार हुँदा ज्ञानेन्द्रबहादुर कार्की वासिङ्टन डिसी पुगेर सम्झौता गर्छ, ढुङ्गा हानिदैन,’ उनले भने, ‘म बाटोमा हिँड्छु, ढुङ्गा हानिन्छ, थाहा हुँदैन के भइरहेको छ भनेर।’

अध्यक्ष ओलीले देश कसरी बनाउने भनेर अरू पार्टीसँग विचार नरहेको बताए।

‘हामीले सरकार छाडेपछि विकासको कुरा सुन्नुभयो?,’ उनले भने, ‘हामी सरकारबाट हटेपछि देशमा विकासको  चर्चा हुँदैन, गठबन्धनको हुन्छ।’

सरकारमा रहेका नेताहरूले अरू जे भए पनि गठबन्धन कायम रहन्छ मात्र भन्ने गरेको उनले बताए।

उनले भने, ‘गठबन्धन केका लागि, २४ लाख खोप कहाँ हरायो, त्यसका लागि गठबन्धन?’

सरकारसँग पैसा नभएर हात थापेर हिँडेको ओलीले आरोप लगाए। तर कसैले नपत्याएको उनको दाबी छ।

‘आज सरकारसँग पैसा छैन, हात थापेर हिँडेछ,’ ओलीले भने, ‘जता हात थाप्यो उतै ओठ लोप्राउँछ, कसैले पत्याउँदैन।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org