ताजा समाचार

पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढिसक्यौँ : प्रचण्ड

काठमाडाैँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभरिको अवस्था हेर्दा माओवादी पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढेको बताएका छन्।

उनले तालमेलबिना नै माओवादी फेरि पहिलो पार्टी बन्न सक्ने बताए।

‘०६४ मा ठूला भनेका दलले माओवादीको पाँच सिट आउँछ होला भनेका थिए तर जनताले हामीलाई प्रत्यक्षतर्फ झन्डै बहुमत दिए,’ आज बिहान पोखरामा पत्रकारहरूसँगको कुराकानीमा प्रचण्डले भने, ‘०७४ को परिणाम हाम्रा अगाडि छ। अब ०७९ मा चुनावमा जाँदा देशैभरिको सबै स्थिति हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढेका छौं।’

उनले लोकतन्त्र, संविधान र शान्ति प्रक्रिया पूरा गर्नेदेखि जनतालाई अधिकार दिने विषय माओवादीले मात्र पूरा गर्न भएकोले फेरि माओवादी पहिलो पार्टी हुनेमा आफू विश्वस्त रहेको बताए।

‘बीचमा गल्ती गरिएछ भन्ने जनतालाई फिल भएको छ,’ उनले भने, ‘सिन्धुलीमा उभार देखा परेको छ। त्यहाँ साथीहरूले भरपर्दो तरिकाले एक नम्बर भएर देखाउँछौं भन्नुभएको छ। एकचोटी फेरि माओवादी आउनैपर्छ।’

उनले तालमेल गरेरभन्दा पनि आफ्नै खुट्टामा उभिएर स्थानीय चुनावमा जाने बताए। तर गठबन्धनको आवश्यकता भने अझै कायमै रहेको उनको भनाइ थियो।

उनले माओवादी अरू दलसँग तालमेलका लागि भन्दा पनि तालमेल गर्न अरू दलले माओवादी खोज्दै आउनुपर्ने अवस्था रहेको जिकीर गरेका थिए।

उनले देशैभरि माओवादीप्रति सकारात्मक देखिएको र माओवादीलाई काम गर्न दिनुपर्ने मत रहेको बताएका थिए। ‘हामी होइन, हेर्नुहोला अरू सबै पार्टी माओवादीसँग तालमेल गर्न आउनुपर्छ,’ उनले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org