ताजा समाचार

बेरुजु फर्स्योटमा गम्भीर हुन गृहमन्त्री खाँणको निर्देशन

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले बेरुजु फर्स्योट उत्कृष्टता हासिल हुनेगरी मिहिनेत गर्न नेपाल सरकारका सबै निकायलाई आह्वान गरेका छन्।

गृहमन्त्री खाँणले बेरुजु फर्स्योट गम्भीर हुन र सबै आय, व्ययलाई दुरुस्त गर्न पनि सम्बन्धित सबै निकायलाई सचेत गराए।

सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक शैलेन्द्र खनालको बिदाइमा सोमबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पूँजीगत खर्च गर्न नसकेर बजेट नै ल्याप्स हुने अवस्था आउन नदिन पनि सबै सरकारी निकायलाई आग्रह गरे।

उनले पूँजीगत खर्चको व्यवस्थापन गर्दै जनतालाई प्रतिफल दिनेगरी विकास, निर्माणको काममा तीव्रता दिन जरुरी रहेको पनि बताए।

गृहमन्त्री खाँणले भने, ‘नेपाल सरकारका समग्र विभागहरूलाई बेरुजु फर्स्याेटमा गम्भीर हुन, बजेटलाई नियम सम्मत रुपमा खर्च गर्न र हरहिसाब दुरुस्त राख्नका साथै बेरुजु फर्स्योटमा उत्कृष्टता हासिल गर्न मिहिनेत गर्नुस् भनेर आह्वान गर्न चाहन्छु। हामी कहाँ बजेट बनाउँदाखेरी पहिलो त्यो घाटाको बजेट बनाएकै हुन्छौं। चालू खर्च चाहिँ बढेर जान्छ। पूँजीगत खर्च चाहिँ हामीले गर्न सक्दैनौं। अब त्यसमाथि झन् बेरुजु आएर अर्को वर्ष त्यसको निरन्तरतामा पनि कठिनाई आउँछ। त्यसकारण पूँजीगत खर्चतर्फ पनि हामी जिम्मेवार हुन जरुरी छ। किनकी भौतिक विकास र विकासले जनतालाई सबल बनाउँछ। विकास, निर्माणको प्रतिफल जनतामा पुर्याउँछ। त्यसकारणले गर्दाखेरी हामीले भौतिक क्षेत्रमा गरिने खर्चलाई पनि हामीले व्यवस्थित गर्न जरुरी छ। खर्च गर्न नसकेर बजेटनै ल्याप्स हुने अवस्था नआओस्।’

गृहमन्त्री खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालले बेरुजु फर्स्योट कार्यमा उत्कृष्टता हासिल गरेको भन्दै प्रशंशा समेत गरे। कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक खनालले आफू सेवाबाट अवकाश प्राप्त भएपनि देश र जनताप्रति सदा उत्तरदायी भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले संगठनमा रहँदा आफूले देश र जनताको सेवामा समर्पित भएर लागेको र त्यो अनुभवलाई आउने दिनमा पनि प्रयोगमा ल्याउने कामलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा मन्त्री खाँणले खनाललाई उत्कृष्ट बेरुजु फर्स्योट सम्मान पनि प्रदान गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org