ताजा समाचार

केन्द्रको निर्णयमा असन्तुष्ट सत्ता गठबन्धनका कार्यकर्ता

काठमाडौं । सत्ता गठबन्धनले आगामी स्थानीय तहका लागि महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा टुंगो लगाएसँगै नेपाली कांग्रेस सहितका दलमा चर्को असन्तुष्टि देखिएको छ ।

सत्ता गठबन्धनका दलहरुको बुधबारको बैठकले भागबन्डा टुंग्यायो । गठबन्धनको निर्णय अनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा मेयर लिएको छ भने वीरगंज, भरतपुर र पोखरा महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिने भएको छ ।

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा मेयर पाएको छ भने ललितपुर महानगरपालिकामा उपमेयर उसको भागमा परेको छ । नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा मेयरमा उम्मेदवारी दिनेछ । त्यस्तै उसले काठमाडौं महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिनेछ ।

त्यस्तै जनता समाजवादी पार्टी (जसपा) ले वीरगंज महानगरपालिका र विराटनगरमा उम्मेदवारी दिने गठबन्धनमा सहमति भएको छ । उपमहानगरमा कांग्रेसले इटहरी, धरान, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको प्रमुख पाउने सहमति भएको छ भने माओवादीले जितपुर सिमरा र घोराहीको प्रमुख पाएको छ ।

एकीकृत समाजवादीले हेटौंडा पाउँदा जसपाले जनकपुर पाएको छ । दलहरुबीच केन्द्रमा भागवण्डा टुंगो लाग्दा स्थानीयस्तरमा विरोध भइरहेको छ भने नेताहरुले असन्तुष्टि जनाएका छन् । जनकपुर र वीरगञ्ज जसपालाई दिने निर्णय भएसँगै त्यहाँ कांग्रेस कार्यक्ताहरु क्रुद्ध भएका छन् ।

कांग्रेस जनकपुरका नगर अध्यक्ष मनोज साहले यो निर्णय स्वीकार नगर्ने चेतावनी दिए । निर्णय नसच्याए कठोर कदम चाल्ने चेतावनी नेता कार्यकर्ताले दिएका छन् । हेटौंडा उपमहानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गठबन्धनले गरेको छ तर स्थानीय कांग्रेस नेता कार्यकर्ता सन्तुष्ट छैनन् ।

बुधबार दिउँसै उनीहरुले विज्ञप्ति निकालेर एकीकृत समाजवादीलाई दिए एक्लै प्रतिस्पर्धा गर्ने चेतावनी दिएका थिए । सत्ता गठबन्धनको छलफलमा अड्चन पैदा गरेको कास्कीको पोखरा महानगर एकीकृत समाजवादीको भागमा परेको छ । तर कांग्रेस कार्यकर्ताहरु सन्तुष्ट छैनन् ।

स्थानीय तहमा एकीकृत समाजवादीको जनाधार नभएको भन्दै कांग्रेसले आफूले पाएमात्र चुनाव जित्न सकिने दाबी गर्दै आएको छ । कांग्रेसमा मात्र होइन गठबन्धनका अन्य दलका नेता कार्यकर्ताले समेत भागबन्डामा असन्तुष्टि व्यक्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) बाँके जिल्ला कमिटीले केन्द्रमा शीर्ष नेताबीचको सहमति नमान्ने चेतावनी दिएको छ ।

जसपाले दाबी गरेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख कांग्रेसले पाउने सहमति बालुवाटारमा भएपछि जसपा नेताहरु आक्रोशित बनेका हुन् । उनीहरुले उक्त निर्णय सच्याउन अल्टिमेटम नै दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org