ताजा समाचार

त्रिदेशीय फुटबल : उद्घाटन खेलमा आज नेपाल र लाओस खेल्दै

काठमाडाै‌। प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता आज (बुधबार) देखि सुरु हुँदैछ ।  खेल अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको हो । प्रतियोगिताको उद्घाटन खेलमा आजै नेपाल र लाओस खेल्दैछन् । खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक एन्फाले जनाएको छ । प्रतियोगिताका लागि हिजो २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । प्रतियोगितामा घरेलु टोली नेपालसहित भुटान र लाओस सहभागी छन् । नेपालले सन् २०१६ पछि लाओससँग खेल्न लागेको हो ।

एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा भएको थियो । जसमा २–२ गोलको बराबरीपछि नेपालले पेनाल्टीमा ३–० ले जितेको थियो । नेपाली टोलीका कप्तान किरण चेम्जोङले छोटो तयारी भए पनि नेपाली टोली खेलका लागि तयार रहेको बताएका छन् । नेपालले अर्को खेल चैत १४ गते भुटानसँग खेल्नेछ ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् । विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् । एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार रुपैयाँ टिकट दर राखेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org