ताजा समाचार

वैशाख १० गते हुने उपचुनावका लागि आजदेखि दल दर्ता गरिने

चैत्र ८, काठमाडौं । आगामी वैशाख १० गते हुने उपचुनावका लागि आजदेखि आइतबारसम्म दल दर्ता गर्न सकिने भएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उपचुनावका लागि दल दर्ताको आह्वान गरेको हो । चैत ५ गतेसम्म आयोगमा दर्ता कायम भएका दलले उपचुनावमा भाग लिन दर्ताका लागि निवेदन दिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम गएको चैत ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको मुख्य कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचित गरिएको आयोगले हिजो निकालेको सूचनामा उल्लेख छ ।

उपचुनाव प्रयोजनका लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि पेस गर्नुपर्नेछ । वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य चितवन जिल्ला क्षेत्र नम्बर–२ को उपचुनावमा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलले दलको विधान, नियमावली र घोषणा पत्र पेस गर्नुपर्ने छैन ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org