ताजा समाचार

माओवादीले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै

काठमाडौं । लुम्बिनी प्रदेश सरकारको मुख्य साझेदार नेकपा माओवादीले आज संसदीय दलको बैठक बोलाएको छ । माओवादीले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय लिन बैठक बोलाएको हो । माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बिहीबार दिउँसो बस्ने माओवादी संसदीय दलको बैठकबाट एमाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने जनाएका छन् ।

पुस २८ गते माओवादी केन्द्रसहित लोसपा, नागरिक उन्मुक्ति, राप्रपा, लोसपा, जसपाको समर्थनमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बनेका थिए । तर नयाँ गठबन्धनमा एमाले र राप्रपाबाहेक सबै परेपछि एमालेलाई समस्या परेको हो । माओवादीमा पनि नयाँ सरकार बनाउँदा पनि आफूहरूले मुख्यमन्त्री नपाउने अवस्थामा अहिलेकै सरकारलाई निरन्तरता दिने आवाज उठेको छ । माओवादीका ११ सांसदमध्ये ४ जनाले अहिलेकै सरकार निरन्तरता दिनुपर्ने पक्षमा रहेको बुझिएको छ ।

८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४४ सांसद आवश्यक हुन्छ । लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका दल सम्मिलित गठबन्धनबाट नयाँ सरकार गठन गर्ने तयारी भइरहेको हो । यद्यपि सो गठबन्धनबाट को मुख्यमन्त्री बन्ने भन्नेबारे टुङ्गो लागिसकेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org