ताजा समाचार

४४ आंगिक क्याम्पसको आधिकारिक मतपरिणाम सार्वजनिक

काठमाडौं । चैत ५ र ९ गते दुई चरणमा सम्पन्न त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ४४ आंगिक क्याम्पसको आधिकारिक मत परिणाम सार्वजनिक भएको छ । त्रिविका ६२ वटा आंगिक क्याम्पसमध्ये १८ वटामा विभिन्न विद्यार्थी संगठनको तालाबन्दी र अदालतको आदेशका कारण मतदान हुन सकेको छैन ।

त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण शाखाका अनुसार भैरहवा बहुमुखी क्याम्पसको अन्तिम मत परिणाम आएपछि ४४ आंगिक क्याम्पसको स्ववियुले पूर्णता पाएको छ । बाँकी १८ क्याम्पसमा तत्काल निर्वाचन अघि बढाउन सम्बन्धित प्रशासनलाई निर्देशन दिइएको निर्देशक पशुपति अधिकारीले बताए ।

हालसम्म मत परिणाम आएका ४४ मध्ये १९ क्याम्पसको स्ववियु सभापति जितेर एमालेनिकट अनेरास्ववियु पहिलो बनेको छ । त्यस्तै १८ क्याम्पसको स्ववियु सभापति जितेर नेपाली कांग्रेस निकट नेविसंघ दोस्रो बनेको छ । ४ वटा क्याम्पसको सभापति जितेर माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी तेस्रो स्थानमा छ ।

त्यस्तै जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले २ वटा क्याम्पसमा स्ववियु सभापति जितेको छ । जनमत पार्टी निकट विद्यार्थी जनमत संघले एउटा क्याम्पसको सभापति जितेको छ । त्रिविका आंगिक क्याम्पसको सभापतिमा अन्य पार्टीका विद्यार्थी संगठनले जीत निकाल्न सकेनन् ।

त्रिविबाट सम्बन्धन प्राप्त क्याम्पसका स्ववियु निर्वाचनको आधिकारिक परिणाम भने विश्वविद्यालयमा नआउने उनले बताए । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमध्ये २२ वटा काठमाडौैं उपत्यकाभित्र छन् भने ४० वटा उपत्यका बाहिर छन् ।

सम्बन्धन प्राप्त र अन्य साना क्याम्पससमेत गरी नेकपा एमाले निकट अनेरास्ववियुले १२२ क्याम्पसमा सभापति जितेको छ । नेपाली कांग्रेस निकट नेविसंघले ११४ र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ७३ वटा क्याम्पसमा सभापति जितेको छ ।

त्रिविका आंगिक क्याम्पसमध्ये देशकै सबभैन्दा धेरै विद्यार्थी पढ्ने पोखराको पृथ्वीनारायण क्याम्पसको निर्वाचन अदालतको आदेशका कारण रोकिएको छ । त्यस्तै पोखराकै पश्चिमाञ्चल इन्जिनियरिङ कलेज, नर्सिङ कलेज, धवलागिरी बहुमुखी क्याम्पस बागलुङमा सत्ता गठबन्धन आबद्ध विद्यार्थीको तालाबन्दीका कारण निर्वाचन रोकिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org