ताजा समाचार

बलात्कार उजुरी दिने गौशाला २६ लाई क्षतिपूर्ति दिन अदालतको अस्वीकार

काठमाडौं । सन्दीप लामिछानेविरुद्ध बलात्कार उजुरी दिने गौशाला २६ लाई क्षतिपूर्ति दिन जिल्ला अदालत काठमाडौंले अस्वीकार गरिदिएको छ । जिल्ला अदालत काठमाडौंले क्रिकेटर लामिछानेविरुद्ध बलात्कार उजुरी दिने गौशाला २६ (पीडितको परिवर्तित नाम) लाई अन्तरिम राहत दिन अस्वीकार गरेको हो ।

चैत १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले मुद्दाको अन्तिम सुनुवाइको बेला भएको भन्दै अन्तरिम भरणपोषणको आदेश दिन अस्वीकार गरेको हो । न्यायाधीश न्यौपानेको आदेशमा भनिएको छ, ‘मुद्दामा अंग पुगी पेशीको तारेख तोकिएको मिसिल संलग्न तारेख भरपाईबाट देखिँदा प्रस्तुत मुद्दामा फैसला हुँदाको बखत कानून बमोजिम हुने नै हुदा हाल निवेदन माग बमोजिम क्षतिपूर्ति भराई दिनुपर्ने अवस्था देखिएन।’

फागुन १५ गते सर्वोच्च अदालतले पीडितको लागि आवश्यक मानसिक शारीरिक स्वास्थ्य उपचारको खर्च पीडित राहत कोषबाट अन्तरिम क्षतिपूर्तिको रूपमा उपलब्ध गराउन काठमाडौं जिल्ला अदालतलाई आदेश दिएको थियो । सर्वोच्चको उक्त आदेशपछि गौशाला २६ ले आफूलाई सामाजिक परामर्श आवश्यक भएकाले विज्ञसँग उपचार गराइरहेको जानकारी गराउँदै भरणपोषणका लागि क्षतिपूर्ति पाउँ भनी जिल्ला अदालतमा निवेदन दिएकी थिइन् ।

गौशाला २६ को निवेदनमाथिको सुनुवाइ जिल्ला अदालत काठमाडौंमा बारम्बार सर्दै आएको थियो । तर न्यायाधीशले फैसला हुँदा कानुन बमोजिम हुने भन्दै अहिले अन्तरिम क्षतिपूर्ति दिन अस्वीकार गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org