ताजा समाचार

बुधबार संसदीय सुनुवाइ समिति गठन गर्ने तयारी

काठमाडौं । संसदीय सुनुवाइ समितिको गठन बुधबार गर्ने तयारी गरिएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा सुनुवाइ समितिमा रहने सांसदहरुको नाम नै प्रस्ताव गरिने सञ्चारकर्मीलाई जानकारी दिनु भयो ।

सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिमा रहने सांसदहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची सार्वजनिक गर्दै गौतमले जनाउनु भयो । सोमबार संसदमा रहेका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक बसेर संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरुमध्ये कुन दलले कति सदस्य लिने तय गरिसकेका छन् । सुनुवाइ समितिको सभापति पद भने कांग्रेसले लिने सहमति भएको बुझिएको छ । समितिका सभापतिसहित कांग्रेसका चार सदस्य रहन्छन् ।

एमालेका पनि चार जना सदस्य रहने भएका छन् । बाँकी चार सदस्यमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) का एक\एक सदस्य रहनेछन् । दलहरु सुनुवाइ समितिमा रहने सदस्यहरुको टुंगो लगाउने गृहकार्यमा छन् । बुधबार बिहान सुनुवाइ समितिमा रहने सदस्यहरुको टुंगो लगाउने र दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गर्ने गरी उपलब्ध गराउने दलहरुको तयारी छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो ३ बजेका लागि बोलाउनु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org